सादा पोसाकमा खटिने प्रहरीलाई ४ वर्षे कार्यअवधि राख्न सिफारिस « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सादा पोसाकमा खटिने प्रहरीलाई ४ वर्षे कार्यअवधि राख्न सिफारिस


५ माघ २०७९, बिहिबार


काठमाडौँ । नेपाल प्रहरीमा सादा पोसाकमा खटिने प्रहरी कर्मचारीलाई लामो समयसम्म नखटाउन अध्ययन कार्यदलले सिफारिस गरेको छ । डिआइजी टेकप्रसाद राई नेतृत्वको कार्यदलले प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहलाई ‘सिभिल’ प्रहरी परिचालन सम्बन्धी अध्ययन प्रतिवेदन बुझाएको छ ।

सादा पोसाकमा परिचालन गरिने प्रहरी कर्मचारीको योग्यता र ट्रयाक रेकर्ड हेर्नुपर्ने कार्यदलको सुझाव छ । सूचना सङ्कलन र ह्युमन इन्टेलिजेन्सका लागि प्रयोग गरिने सादा पोसाकका प्रहरीले छुट्टै तालिम लिनुपर्ने गरी कार्यविधि बनाउन सिफारिस गरिएको छ ।

सादा पोसाकमा खटिने प्रहरी कर्मचारी बढीमा ४ वर्षमात्र खटिन पाउने गरी कार्यविधि बनाउन प्रस्ताव गरिएको प्रहरी प्रवक्ता समेत रहेका कार्यदलका संयोजक डिआइजी टेकप्रसाद राईले बताए । 

सादा पोसाकको ड्युटीमा परिचालन गर्ने प्रहरी कर्मचारीलाई सम्बन्धित युनिटले एक तह माथिल्लो युनिटबाट स्वीकृत लिनुपर्छ । जिल्ला प्रहरी कार्यालयले प्रदेशबाट र प्रदेशले प्रधान कार्यालयको आदेश लिएर मात्र सादा पोसाकका प्रहरी परिचालन गर्न पाउनेछन् । कार्यदलले बुझाएको प्रतिवेदन गृह मन्त्रालयबाट स्वीकृत गरेर लागू गर्ने प्रहरी प्रधान कार्यालयको तयारी छ ।

गृह मन्त्रालयले केही दिनअघि देशभर सादा पोसाकमा खटिएका प्रहरी कर्मचारीको विवरण मागेको थियो । सूचना सङ्कलन गर्न र अपराध अनुसन्धानका लागि प्रहरीमा बर्दि बिनाका प्रहरी परिचालन गरिँदै आएको छ ।

‘सिभिल’मा खटिने प्रहरी पहुँचको आधारमा लामो समय एकै ठाउँमा बस्ने गरेका छन् । युनिट इन्चार्जहरूले उनीहरूलाई दुरुपयोग गर्ने गरेको सूचना आएपछि उप–प्रधान एवं गृहमन्त्री रवि लामिछानेले उनीहरूको विवरण सङ्कलन गर्न आदेश गरेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस