प्रतिकूलतामा गम्भीरता, नवीनताको प्रतिबद्धता : महामन्त्रीद्वय थापा, शर्मा « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

प्रतिकूलतामा गम्भीरता, नवीनताको प्रतिबद्धता : महामन्त्रीद्वय थापा, शर्मा


१६ पुस २०७९, शनिबार


काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले मुलुकको पछिल्लो राजनीतिक परिस्थितिमा आग्रह र पूर्वाग्रहमुक्त भएर संयमतापूर्वक समग्र घटनाक्रम तथा त्यसबाट उत्पन्न परिस्थितिको इमानदार समीक्षा गर्ने उल्लेख गरेका छन् ।

पार्टीबाट असावधानी, कमजोरी र गल्तीको कुनै ढाकछोप नगरी स्विकार्दै खुला र पारदर्शी छलफलमार्फत कारण र कारकको प्रस्ट पहिचान गरेर अबको मार्गचित्र तय गर्ने उनीहरूले उल्लेख गरे ।

राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा आज महामन्त्रीद्वय थापा र शर्माले संयुक्त विज्ञप्तिमार्फत काँग्रेसले गम्भीर आत्म समीक्षा र आत्म मूल्याङ्कन गर्दै सु विचारित ढङ्गबाट अबको बाटो तय गर्ने उल्लेख गरेका छन् ।

विसं २०३३ मा आजकै दिन ‘राष्ट्रिय एकता तथा मेलमिलाप’ को नीति लिएर जननायक बिपी कोइराला निर्वासनबाट स्वदेश फर्किएका थिए । त्यस बेला सबै मिलेर हाम्रो देशको लोकतन्त्र, शान्ति र समुन्नतिमा योगदान दिन उनले गरेको आह्वान आज पनि उत्तिकै सान्दर्भिक छ ।

गत मङ्सिर ४ मा सम्पन्न निर्वाचनपश्चात् मुलुकमा भिन्न राजनीतिक परिस्थिति निर्माण भएको छ । प्रतिनिधिसभामा सबैभन्दा ठुलो दल भएर पनि काँग्रेस प्रतिपक्ष बन्न पुगेको छ ।

‘नेपाली जनताको मतबाट हामी पहिलो दलका रूपमा विजयी भएकै हौँ । तर गठबन्धनको सरकार बनाउन पर्याप्त गृहकार्य र सावधानी पु¥याउन नसक्दा केबल सत्ताको राजनीतिमा यो पटक पछि परेका मात्रै हौँ । हामी उच्च नैतिक बलका साथ दाबी गर्न सक्छौँ कि निर्वाचनका बेला एउटा गठबन्धन र एउटा वाचा बन्धन गरेर जाने, तर निर्वाचनपछि अर्कै बाटो हिँड्ने बेइमानी कम्तिमा हामीबाट भएन’, विज्ञप्तिमा उल्लेख छ ।

काँग्रेसले वर्तमान सरकारलाई गुण र दोषका आधारमा मूल्याङ्कन गर्ने, जनताप्रति जबाफदेही बनाउन जिम्मेवार प्रतिपक्षका रूपमा सशक्त भूमिका निर्वाह गर्ने तथा राष्ट्रिय राजनीति र जनचासोका विषयमा नेतृत्वदायी अग्रसरता लिने महामन्त्रीद्वय थापा र शर्माको भनाइ छ ।

काँग्रेसले आफ्नो गौरवशाली इतिहासमा यस्ता अनेकौँ चुनौती र अप्ठ्यारा मोड सामना गरेको तर हर चुनौतीलाई चिरेर दृढतापूर्वक अघि बढेको छ र देशलाई सफलतापूर्वक निकास दिएको छ । त्यसैले अहिलेको परिस्थितिलाई पनि सङ्कटका रूपमा लिएर हतास हुने छुट आफूहरूलाई नभएको उल्लेख गर्दै उनीहरूले यसलाई पार्टीको शुद्धीकरण र पुनर्जागरणको नवीन अवसरमा बदल्ने जबरजस्त तागत प्रस्तुत गर्ने बताएका छन् ।

पार्टीलाई अहिलेको अलमलबाट बाहिर निकाल्नुपर्ने र अहिलेको परिस्थितिलाई शक्तिमा बदलेर पार्टीलाई पुनर्जागृत गर्ने उद्घोषका साथ महामन्त्रीद्वय थापा र शर्माले त्यसका लागि अविलम्ब पार्टीको संरचना र सङ्गठन गतिशील र चुस्त बनाउने बताएका छन् ।

विधानतः, पार्टीमा बनाउनुपर्ने सबै संरचना र भ्रातृ तथा शुभेच्छुक संस्थाको विधिसम्मत पूर्णता दिने, पार्टीको केन्द्रदेखि टोल समितिसम्म जागरणका कार्यक्रम सञ्चालन गर्ने, विधानबमोजिम गर्नुपर्ने नीति महाधिवेशन गरी पार्टीको नीति योजना र कार्यक्रम तय गर्ने काम अविलम्ब गर्नुपर्ने धारणा व्यक्त गरेका छन् ।

कार्यकर्ता पङ्क्तिमा आत्मविश्वास र आमजनताको भरोसालाई पुनः स्थापित गर्ने गरी पार्टीलाई दिशानिर्देश गर्न पार्टीमा आत्म समीक्षा गरेर मात्रै पुग्दैन र त्यसलाई सच्याउँदै आफू बदलिने र देशको मुहार बदल्ने सपना र सङ्कल्प पनि देखाउन सक्नुपर्ने दृढता व्यक्त गरेका छन् ।

‘बदलिएको काँग्रेस र बलियो काँग्रेस’को स्पष्ट खाका निर्माण र अवलम्बन गर्न अब हरेकले फेरि एकचोटी जुर्मुराउनुपर्ने उल्लेख गर्दै उनीहरूले यस अवस्थामा पार्टीको केन्द्रदेखि टोलसम्म, भ्रातृ संस्थादेखि शुभेच्छुक संस्थासम्म, पेसागत बुद्धिजीवीदेखि श्रमिक र किसानसम्म, स्वदेशको गाउँदेखि परदेशको मरुभूमिसम्म जो जहाँ छौँ, त्यहीँबाट संस्थागत या व्यक्तिगतरुपमा गर्न सक्ने योगदानका लागि थप उत्साह, एकता र रूपान्तरणको भावनासाथ अघि बढ्न हामी अपिल गरेका छन् ।

आजको समयसम्म आइपुग्दा वैचारिक रूपान्तरणले होस् या बाध्यताले नेपालका प्रायः सबै राजनीतिक दल संसदीय लोकतान्त्रिक परिपाटीमा समाहित भएका छन् ।

लोकतान्त्रिक मार्ग नेपालको राष्ट्रिय एकताको साझा अठोट र साझा मार्ग बन्दै गएको छ । यसमा सन्तोष मान्नुपर्छ किनकि मूलतः यो बिपी कोइरालाको राजनीतिक विचार र प्रभावको विजय भएको महामन्त्रीद्वय थापा र शर्माले बताएका छन् । तर यसै व्यवस्थाभित्र जन्मिन सक्ने अधिनायकवादी र अतिवादी चिन्तनलाई परास्त गर्न काँग्रेस सदैव सजग रहने उनीहरूको भनाइ छ ।

महामन्त्रीद्वय थापा र शर्माले ‘राष्ट्रिय एकता र मेलमिलाप’ को आधार हिजोको समयमा राष्ट्रियताको रक्षा र लोकतान्त्रिक प्रणाली रहेको उल्लेख गर्दै सन्तुलित बाह्य सम्बन्ध, सबल राष्ट्रियता, सुदृढ लोकतन्त्र र सुशासनको मार्गबाट नेपालको समुन्नति सम्भव छ भन्ने मान्यता आजको मेलमिलापको आधार र विश्वास हो भन्ने तथ्यमा आफूहरू प्रस्ट र दृढ रहेको तथा त्यो यात्रामा अविचलित ढङ्गले समर्पित रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस