एमाले गण्डकी प्रदेश संसदीय दलको नेतामा खगराज अधिकारी चयन « प्रशासन
Logo ३० बैशाख २०८१, आइतबार
   

एमाले गण्डकी प्रदेश संसदीय दलको नेतामा खगराज अधिकारी चयन


१० पुस २०७९, आइतबार


काठमाडौँ । नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलको नेतामा खगराज अधिकारी चयन भएका छन्। नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलको आइतबार बसेको बैठकले अधिकारीलाई संसदीय दलको नेता बनाउने सर्वसम्मत निर्णय गरेको हो। 

एमाले सङ्गठन विभाग प्रमुख अधिकारी कास्की १ को १ बाट निर्वाचित प्रदेश सभा सदस्य हुन्। उनी पूर्व गृहमन्त्रीका साथै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पनि हुन्।

आइतबार एमाले गण्डकी प्रदेश संसदीय दलको बैठक ज्येष्ठ सदस्य मित्रलाल बस्यालको अध्यक्षतामा बसेको थियो। बैठकमा बागलुङका प्रदेश सभा सदस्य लिलाबहादुर थापाले अधिकारीलाई संसदीय दलको नेता बनाउन प्रस्ताव गरेका थिए भने नवलपरासी पूर्व (नवलपुर)का प्रदेश सभा सदस्य रोशन गाहा मगरले समर्थन गरेका थिए। सो प्रस्तावलाई उपस्थित सबै सांसदले ताली बजाएर सर्वसम्मत रूपमा पारित गरेको कास्की १ को २ बाट निर्वाचित प्रदेश सभा सदस्य बेदबहादुर गुरुङ (श्याम)ले जानकारी दिए।

यसैबीच, एमाले गण्डकीले गण्डकी प्रदेश सरकार बनाउन पहलकदमी लिने भएको छ। एमाले, माओवादीलगायतको गठबन्धन बनेर संघमा प्रचण्ड नेतृत्वमा सरकार बन्ने सहमति भएपछि प्रदेशमा आफ्नो नेतृत्वमा सरकार बनाउन पहल गर्ने सहमति भएको कास्की २ को १ बाट निर्वाचित सांसद भीम कार्कीले जानकारी दिए। 

Tags :
प्रतिक्रिया दिनुहोस