हत्या आरोपमा पूर्व सचिव दोषी ठहर « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

हत्या आरोपमा पूर्व सचिव दोषी ठहर


५ पुस २०७९, मंगलबार


काठमाडौँ । एकजना पूर्व सचिवलाई १० हजार ५०५ जनाभन्दा बढी मानिसको हत्यामा संलग्न रहेको अभियोगमा दोषी ठहर्याइएको छ । 

एउटा नाजी यातना शिविरको कमान्डरका लागि काम गर्ने ९७ वर्षीया एर्मगार्ड फर्चनरलाई स्टथोफमा किशोरावस्थामा टाइपिस्टको नोकरी दिइएको बीबीसीले लेखेको छ । 

उनले त्यहाँ सन् १९४३ देखि १९४५ सम्म काम गरेकी थिइन् । दशकौँपछि नाजी अपराधका लागि मुद्दा चलाइएकी फुर्चनर पहिलो महिला हुन् । उनलाई दुई वर्ष लामो निलम्बित कारावास सजाय सुनाइएको छ । 

न्यायाधीशले एक सरकारी कर्मचारी भए पनि उनलाई सो यातना शिविरमा के भइरहेको थियो भन्ने पूर्ण जानकारी रहेको बताएका छन् । स्टथोफमा यहुदी बन्दी, गैरयहुदी पोलहरू तथा समातिएका सोभियत सेनालगायत करिब ६५ हजार जनाको ज्यान लिइएको थियो ।

घटनाका बेला केवल १८ वा १९ वर्षकी मात्र भएकीले फर्चनरलाई विशेष बाल अदालतमा मुद्दा चलाइएको हो । स्टथोफ अहिले पोल्यान्डको सहर डान्स्क नजिक रहेको छ । त्यहाँ कैदीहरूलाई विभिन्न तरिकाले हत्या गरिएको थियो । सन् १९४४ को जुनयता हजारौँ व्यक्तिलाई त्यहाँका ग्यास च्याम्बरमा राखेर मारिएको थियो ।

उत्तरी जर्मनीको इत्जेहोएस्थित अदालतमा उक्त शिविरमा रहेर पनि बाँच्न सफल व्यक्तिहरूका तर्फबाट सुनुवाइ भएको थियो । मुद्दा चल्नेक्रममा तिनीहरूमध्ये केहीको मृत्यु भएको थियो ।

सन् २०२१ को सेप्टेम्वरमा आफूविरुद्ध मुद्दा सुरु भएपछि फर्चनर अवकाश प्राप्तहरू बस्ने घरबाट भागेकी थिइन् । अन्ततः प्रहरीले उनलाई ह्याम्बर्गको एउटा सडकमा फेला पारेको थियो ।

स्टथोपका कमान्डर पाउल-वेर्नर होप्पेलाई सन् १९५५ मा हत्या कार्यमा सहयोग गरेको आरोपमा पक्रेर कारावास चलान गरिएको थियो । तर, उनलाई पाँच वर्षपछि नै कारागार मुक्त गरिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस