राष्ट्र र जनताको हितमा सक्रिय र जिम्मेवार भूमिका निर्वाह गर्छौ : ओली « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

राष्ट्र र जनताको हितमा सक्रिय र जिम्मेवार भूमिका निर्वाह गर्छौ : ओली


५ पुस २०७९, मंगलबार


काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टी सरकारमा जाने पक्षमा नरहेको स्पष्ट पारेका छन्।

सत्तारुढ गठबन्धनले सरकार गठनका लागि अनुचित, अपवित्र र फोहोरी उद्देश्य र अभ्यास गरिरहेको भन्दै आफ्नो पार्टी त्यसको विरुद्धमा रहेकोसमेत अध्यक्ष ओलीले बताए।

मङ्गलवार पार्टीले काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले आफ्नो पार्टी सत्तामा रहे पनि, प्रतिपक्षमा रहे पनि राष्ट्र र जनताको हितमा सक्रिय र जिम्मेवार भूमिका निर्वाह गर्ने दाबी गरे।

राष्ट्रियता, लोकतन्त्र, स्वच्छता, सुशासनयुक्त कानुनी राज, आर्थिक र सामाजिक विकास, सामाजिक न्याय र समानता, शान्ति सुव्यवस्थालगायत नागरिक सम्मान एवं राजनीतिक, सामाजिक स्थिरता र स्थायित्वको पक्षमा दृढतापूर्वक देश र जनताको सेवा गर्न आफ्नो पार्टी लागिपर्ने अध्यक्ष ओलीको भनाइ थियो।

उनले एमालेबाहेक अन्य दलसँग सरकार बनाएर के गर्ने भन्ने कुनै गन्तव्य नै नभएको जिकिर गरे। देश र जनताका लागि भन्दा पनि आफ्नो स्वार्थ पूरा गर्नका लागि सत्तारुढ दलहरू सरकार बनाउने खेलमा लागिपरेकाले त्यसमा आफ्नो पार्टी सामेल हुन नचाहेको ओलीले बताए।

अध्यक्ष ओलीले पार्टी र पार्टी संसदीय दलको नीति, निर्णय र निर्देशनअनुसार चल्न पार्टीका नवनिर्वाचित सांसदहरुलाई निर्देशन दिए।

Tags :
प्रतिक्रिया दिनुहोस