सत्ताका लागि अर्को गठबन्धन बनाउन हुँदैन : विश्वप्रकाश शर्मा « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

सत्ताका लागि अर्को गठबन्धन बनाउन हुँदैन : विश्वप्रकाश शर्मा


५ पुस २०७९, मंगलबार


काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सत्ताको आकाङ्क्षाका लागि अर्को गठबन्धन बनाउन नहुने बताएका छन् ।

मङ्गलवार काठमाडौँमा नेपाल ट्रेड युनियन काँग्रेसले गरेको कार्यक्रममा महामन्त्री शर्माले निर्वाचनमा जाँदा एउटा र चुनाव सकिएपछि सत्ताको आकाङ्क्षाका लागि अर्को गठबन्धन बनाउन नहुनमा जोड दिए ।

सत्ताको आकाङ्क्षा, आग्रह-पूर्वाग्रहभन्दा माथि उठेर अहिलेको गठबन्धनलाई जोगाएर जाने कुरामा काँग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)का अध्यक्षहरू गम्भीर हुनुपर्ने उनले बताए । उनले सबै दलले गठबन्धनको आवश्यकता र औचित्यलाई भुल्न नहुने धारणा राखे ।

कुनै समय बहुमत प्राप्त गरेको काँग्रेस अहिले ठूलो दल हुनुमा माओवादी र एकीकृत समाजवादीको साथ र समर्थनलाई भुल्न नहुने उनको भनाइ छ ।

उनले प्रधानमन्त्री आलोपालो हुने भएकाले गठबन्धनकै प्रक्रियाभित्रबाट जानुपर्ने र राष्ट्रपति तथा सभामुखको चयन हुँदै गर्दा आवश्यक राख्ने सहमति, सन्तुलन, परिपक्वताका आधारमा निष्कर्षमा पुग्नुपर्ने बताए ।

राष्ट्रपति व्यक्ति मात्र नभई प्रवृत्तिका रूपमा शीतलनिवास प्रवेश गर्ने भएकाले राष्ट्रपति को बन्ने भन्ने विषय महत्त्वपूर्ण हुने उनले उल्लेख गरे ।

उनले सिद्धान्त र कामको बलमा ट्रेड युनियनलाई बलियो बनाएर लैजानुपर्ने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस