अन्तर्राष्ट्रिय कराँते च्याम्पियनसिपमा नेपालले जित्यो १० स्वर्ण « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

अन्तर्राष्ट्रिय कराँते च्याम्पियनसिपमा नेपालले जित्यो १० स्वर्ण


४ पुस २०७९, सोमबार


काठमाडौँ । भारतको मुम्बईमा सम्पन्न अन्तर्राष्ट्रिय कराँते च्याम्पियनसिपमा नेपालले १० स्वर्ण र दुई रजतपदक हात पारेको छ । 

मिक्स मार्सल आर्ट फेडेरेसन इन्डियाको आयोजनामा भएको उक्त च्याम्पियनसिपमा नेपालका राजकुमार श्रेष्ठ, अमृत थोकर र मनिष कार्की सम्मिलित पुरुष टोलीले कातातर्फ स्वर्ण जित्न सफल भएको मुम्बईबाट प्रतियोगिता रेफ्री एवं नरहरीपुर डोजो, मच्छेगाउँका प्रशिक्षक रवीन्द्र मानन्धरले जानकारी दिए ।

सृजना महतारा, नानु शाक्य र सञ्जु देसार सम्मिलित टोलीले नेपालका लागि महिला टिममा पनि स्वर्ण जित्यो । श्रद्धा थापाले सिनियर काता तथा ६१ केजी कुमितेतर्फ स्वर्ण जितिन् । सृजना महताराले क्याडेट व्यक्तिगत कातामा स्वर्ण तथा ५५ केजी कुमितेतर्फ रजत जोडिन् । 

यस्तै, नानु शाक्यले ५० केजी कुमितेमा स्वर्ण र जुनियर व्यक्तिगत कातामा रजत प्राप्त गरिन् । टिममा स्वर्ण प्राप्त गरेकी सञ्जु देसारले जुयिनर व्यक्तिगत काता र ४५ केजी कुमितेमा पनि स्वर्ण जित्न सफल भइन् ।

पुरुषतर्फ टिममा स्वर्ण जित्न सफल अमृत थोकरले ५५ केजी कुमिते र मनिष कार्कीले जुनियर व्यक्तिगत कातामा स्वर्ण जित्न सफल भए । नेपालकी नानु शाक्यले वेस्ट अफ द वेस्ट फिमेल फाइटको उपाधिसहित मिक्स मार्सल आर्टको एमएमए बेल्टसमेत प्राप्त गर्न सफल भएको टोली नेतासमेत रहेका मानन्धरले जानकारी दिए ।

नेपालको टिम प्रशिक्षकमा राकेश श्रेष्ठ र व्यवस्थापकमा सानुभाइ थापा मगर छन् । च्याम्पियनसिपमा नेपाल, भारत र रसियाका गरी ४२५ खेलाडीहरूको सहभागिता रहेको थियो । 

Tags :
प्रतिक्रिया दिनुहोस