महानगरद्वारा सार्वजनिक तथा ऐलानी जग्गा खोजी अभियान सुरु  « प्रशासन
Logo १३ जेष्ठ २०८१, आइतबार
   

महानगरद्वारा सार्वजनिक तथा ऐलानी जग्गा खोजी अभियान सुरु 


४ पुस २०७९, सोमबार


काठमाडौँ । वीरगञ्ज महानगरपालिकाले नगर भित्र रहेका सार्वजनिक तथा ऐलानी जग्गा खोजी गर्न सुरु गरेको छ । सार्वजनिक तथा ऐलानी जग्गा अतिक्रमण गरी निजी प्रयोजनमा प्रयोग गर्दै आएको जग्गा खोजी गर्न महानगरको टोली नक्सा लिएरै सम्भावित स्थानमा पुग्न थालेको हो ।

आज वडा नम्बर १७ र १९ को सीमामा रहेको कोनियाँ गाउँमा पुगेको टोलीले त्यहाँ अतिक्रमण गरेको सार्वजनिक जग्गा छुट्याउन दिनभर नापजाँच गरेको छ । जनप्रतिनिधिले नै कब्जा गरेको सार्वजनिक जग्गा छुट्याउन नापजाँच गरेर महानगरले सार्वजनिक जग्गा खोजी अभियानको थालनी गरेको हो ।

महानगरको टोलीले वडा नम्बर १७ का वडा सदस्य अमोद यादवले अतिक्रमण गरेर भोगचलन गर्दै आएको वडा नम्बर १९ कोनियाँमा पर्ने सार्वजनिक जग्गा आफ्नो अधिनमा ल्याउन नापजाँच गरेको हो ।

यादवले आफ्नो नाममा रहेको ७ कट्ठा जग्गाको आडैमा रहेको ४ बिघा सार्वजनिक जग्गा अतिक्रमण गरी निजी प्रयोजनमा प्रयोग गर्दै आएको वडा नम्बर १९ का वडाध्यक्ष मुकेश कुमार चौरसियाले बताए । महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले नगरक्षेत्र भित्र रहेका सार्वजनिक जग्गा पहिचान गरी महानगर माताहातमा ल्याउन अभियान चलाएका हुन् । 

अहिले महानगरसँग आफ्नो क्षेत्रमा रहेका सार्वजनिक जग्गा कति छ भन्ने कुनै पनि तथ्याङ्क छैन । तथ्याङ्क नहुँदा काम गर्न कठिनाई भएकाले महानगरले आफ्नो सीमा भित्र रहेका सार्वजनिक सम्पत्ति संरक्षण गर्न जग्गा खोजी अभियान अघि बढाइएको महानगरले जनाएको छ । यो अभियान अब ३२ वटै वडामा सञ्चालन हुने पनि महानगरले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस