रवि लामिछानेले राहदानी बनाउँदा प्रयोग गरेको विवरण शङ्कास्पद « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

रवि लामिछानेले राहदानी बनाउँदा प्रयोग गरेको विवरण शङ्कास्पद


३ पुस २०७९, आइतबार


काठमाडौँ । चितवन क्षेत्र नम्बर-२ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विवादबारे प्रहरीको अनुसन्धान जारी छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँले लामिछानेविरुद्धको नागरिकता विवादको उजुरीबारे अनुसन्धान गरिरहेको छ ।

उनको नागरिकता विवादको उजुरीबारे अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौँले प्रहरीलाई पत्र पठाएसँगै अनुसन्धान अगाडि बढाइएको थियो । जिल्ला प्रहरी परिसरका एसपी दिनेशराज मैनालीले प्राप्त पत्रका आधारमा आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको बताए । थप कुरा अनुसन्धानपछि खुल्ने उनको भनाइ छ ।

प्रहरीले लामिछानेविरुद्ध सरकारी कागज दुरुपयोग सम्बन्धमा छानबिन अगाडि बढाएको हो । प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकारीका अनुसार लामिछानेको नागरिकताको विषय कानुनअनुसार नै रहेको तर राहदानीमा प्रयोग गरेका कागजात र विवरण शङ्कास्पद देखिएको छ ।

प्रहरीले यसबारे अमेरिकी दूतावास र अरू निकायलाई पत्र लेखेको छ । पत्रको जवाफ नआएको बताइएको छ ।

लामिछानेको नागरिकता छानबिनको माग गर्दै गृह मन्त्रालयमा उजुरी परेको थियो । उनी प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्दा पेस गरेको नागरिकता नै अवैध रहेको भन्दै निर्वाचन आयोगमा समेत उजुरी परेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस