डिपट्युवेलका ट्रान्सफर्मर चोरी « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

डिपट्युवेलका ट्रान्सफर्मर चोरी


२९ मंसिर २०७९, बिहिबार


बारा । बारा र पर्सा जिल्लामा भूमिगत सिँचाइका लागि विभिन्न स्थानमा जडान भएका डिपट्युवेलबाट ट्रान्सफर्मर चोरी भएको पाइएको छ ।

ट्रान्सफर्मर चोरीका कारण दुवै जिल्लामा भूमिगत सिँचाइको काम प्रभावित भएको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजनको कार्यालय वीरगञ्ज पर्साले जनाएको छ ।

मधेस प्रदेश सरकारको मातहतमा रहेको कार्यालयका अनुसार पर्सा जिल्लामा तीन वटा र बारा जिल्लामा तीन वटा ट्रान्सफर्मर चोरी भएका छन् ।

चोरी भएका ट्रान्सफर्मरबारे पर्सा र बाराका प्रहरी प्रशासनलाई जानकारी दिएको कार्यालय प्रमुख अरविन्दकुमार मिश्राले जानकारी दिए । चोरी भएका छ वटा ट्रान्सफर्मरको मूल्य ३० लाख रहेको उनको भनाइ छ ।

कार्यालयका अनुसार पर्साको वीरगञ्ज महानगरपालिका वडा नं २८ र ३१, कोन्दियाको वडा नं ३२ को सोलखपुर र बारा जिल्लाको पर्सोनी गाउँपालिका वडा नं ७ प्रस्टोका, महागढी माई नगरपालिकाको तेलकूवा र हर्नेया नजिक इनर्वामालमा जडान भएका डिपट्यूवेलबाट ट्रान्सफर्मर चोरी भएको प्रमुख मिश्राले जानकारी दिए ।

उनका अनुसार विगत दुई महिनाको अवधिमा ६ वटै ट्रान्सफर्मर चोरी भएको हो । ट्रान्सफर्मर चोरी भएपछि किसान समस्यामा परेको मिश्राको भनाइ छ ।

पर्साका प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकीले चोरी भएको ट्रान्सफर्मर विषयमा छानबिन तथा पत्ता लगाउनका लागि सम्बन्धित प्रहरी चौकीमा निर्देशन दिइएको बताए ।

ट्रान्सफर्मरभित्र ५० हजार पर्ने तेल र चार लाखभन्दा बढी मूल्य पर्ने तामाको तार जडान गरिएको हुन्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस