प्रहरी चौकीमा ताल्चा, सदरमुकाममा प्रहरी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रहरी चौकीमा ताल्चा, सदरमुकाममा प्रहरी


२८ मंसिर २०७९, बुधबार


काठमाडौँ । हुम्लाको  नाम्खा गाउँपालिका ५ को हिल्सा, ६ को लिमीस्थित सुनखानीका सीमा क्षेत्रमा रहेका प्रहरी चौकी सदरमुकाम सारिएको छ । अत्यधिक चिसो हुने भएपछि यी दुई ठाउँमा रहेका प्रहरी चौकीहरूमा कार्यरत प्रहरीहरू सदरमुकाम आएका हुन् । 

जिल्ला प्रहरी कार्यकालका प्रहरी निरीक्षक दीपक मल्लले दिएको जानकारीअनुसार हिउँदमा चिसो पनि हुने र मानिसको आउजाउ नहुने भएकाले दुवै प्रहरी चौकीबाट प्रहरीलाई सदरमुकाम फिर्ता बोलाएको हो । 

कुनै पनि घटना नहुने र हिउँदमा प्रहरीलाई रासनपानीको व्यवस्था गर्न समस्या हुने भएकाले बर्सेनि मङ्सिरपछि चौकीमा खटिएका प्रहरीलाई सदरमुकाम झिकाउने काम हुँदै आएको छ । 

चौकीका प्रहरी फिर्ता आएपछि चौकीमा ताला लगाएर बन्द गरिएको छ। हिल्सामा १३ जना र सुनखानीमा ११ जना प्रहरी कार्यरत थिए । अघिल्ला वर्षमा हिल्सा प्रहरी चौकीका प्रहरीलाई नाम्खा गाउँपालिका-५ कै मुचु प्रहरी चौकीमा हिल्साबाट फिर्ता बोलाएर राख्ने गरिए पनि यस वर्ष जिल्लामा बोलाइएको छ।

दुबै प्रहरी चौकीका प्रहरी जेठसम्म जिल्लामै बस्ने र त्यसपछि मात्र चौकीमा फिर्ता हुनेछन्। हिल्सामै स्थापना भएको सशस्त्र प्रहरी सीमा सुरक्षा चौकी (बिओपी) भने हिल्सामै छ।

Tags :
प्रतिक्रिया दिनुहोस