दोहोरो अङ्कले बढ्यो नेप्से « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

दोहोरो अङ्कले बढ्यो नेप्से


२६ मंसिर २०७९, सोमबार


शेयर बजार

काठमाडौँ । साताको दोस्रो दिन सेयर बजारमा दोहोरो अङ्कको वृद्धि भएको छ ।

सोमबार बजार परिसूचक नेप्से १६.९७ अङ्क (०.९० प्रतिशत) ले वृद्धि भएर १९०२.२८ अङ्कमा बन्द भएको छ । गत सोमबारदेखि लगातार चार कारोबार दिन घटेको नेप्से पाँचौँ दिनमा आएर भने दोहोरो अङ्कले बढेको हो ।

बैङ्किङ बाहक सबै उपसूचकमा वृद्धि हुँदा नेप्से पनि बढेको छ । बजारमा सबैभन्दा ठुलो हिस्सा रहेको बैङ्किङ उपसूचक ०.५८ प्रतिशतले गिरावट भएको छ ।

राष्ट्र बैङ्कले बैङ्कहरूले लिने निक्षेप र कर्जाबीचको औसत ब्याजदर अन्तरमा कडाइ गर्नुको साथै गत आर्थिक वर्षमा बैङ्कहरूले सम्भावित कर्जा नोक्सानीको व्यवस्थामा गरेको कडाइले अपेक्षाकृत लाभांश नपाउँदा बैङ्कका लगानीकर्ता निराश बनेका छन् ।

कोभिड-१९ को समयमा भन्दा बैङ्कहरूको लाभांश घटेका कारण पनि बैङ्कको सेयरमा लगानीकर्ताको आकर्षण घट्दा बैङ्किङ उपसूचक नै गिरावट भएको छ ।

नेप्सेसँगै कारोबार रकम पनि वृद्धि भएको छ । आइतबार १ अर्ब १० करोडको कारोबार भएको बजारमा सोमबार भने कारोबार रकम बढेको छ । सोमबार ४४ लाख ७० हजार ६२५ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ३६ करोड ६० लाख १० हजारको कारोबार भएको छ । सोमबार कारोबार भएकामध्ये नबिल बैङ्कको २१ करोड ३२ लाख ४२ हजारको कारोबार हुँदा कुमारी बैङ्कको संस्थापक सेयर १० करोड ९८ लाख ७८ हजारको कारोबार भएको छ । यस्तै शिवम् सिमेन्टको ६ करोड २१ लाख ७७ हजारको कारोबार भएको छ ।

सोमबार नेप्सेमा कुल २०६ कम्पनीको सेयर कारोबार हुँदा १५८ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ । त्यस्तै ४१ कम्पनीको सेयर मूल्यमा गिरावट हुँदा ७ कम्पनीको सेयर मूल्य स्थिर छ । सोमबार कारोबार भएकोमध्ये समिट लघुवित्त र सीवाईसी नेपाल लघुवित्तको सेयर मूल्य बढेर सकारात्मक सर्किट लाग्दा नेपाल दूरसञ्चार कम्पनीको सेयर मूल्य ७.४६ प्रतिशतले बढेको छ ।

यता ग्लोबल आईएमई ब्यालेन्स फण्ड १ को इकाइमूल्य ९.९३ प्रतिशत, कुमारी धन वृद्धि योजनाको इकाइमूल्य ५.७१ प्रतिशत र मैलुङ खोला जलविद्युत कम्पनीको सेयर मूल्य ५.७१ प्रतिशतले गिरावट भएको छ । यस्तै आइतबार मात्रै ३० प्रतिशत लाभांश घोषणा गरेको नबिल बैङ्कको सेयर मूल्य पनि ३.६६ प्रतिशतले गिरावट भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस