चार वर्षमा सहजपुर-बोगटान सडक २९ किलोमिटर मात्रै कालोपत्र « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

चार वर्षमा सहजपुर-बोगटान सडक २९ किलोमिटर मात्रै कालोपत्र


२५ मंसिर २०७९, आइतबार


काठमाडौँ । ​कैलालीको सहजपुर-विपीनगर-बोगटान सडकको २९ किलोमिटर कालोपत्रको काम पूरा भएको छ । पचास किलोमिटर सडक कालोपत्रका लागि ठेक्का सम्झौता भएको चार वर्षमा २९ किलोमिटर मात्र कालोपत्रको काम पूरा भएको हो । 

वि.सं २०७५ फागुनमा ५० किलोमिटर सडक कालोपत्रका लागि ३६ महिनामा सडक निर्माणको काम पूरा गर्न ठेक्का सम्झौता भएकामा २९ किलोमिटरको काम मात्र पूरा भएको हो । 

सडक निर्माणको समयावधि सकिँदा पनि कालोपत्रको काम पूरा नभएको सहजपुर-बोगटान सडक योजना कार्यालयले जनाएको छ । सो सडकको बाँकी कालोपत्रको काम चालू आर्थिक वर्षभित्रै सम्पन्न हुने सहजपुर-बोगटान सडक योजना कार्यालयका सूचना अधिकारी अशोक मल्लले बताए ।

कालोपत्र गर्ने काम जारी रहेकाले यो आर्थिक वर्षमा बाँकी सबै काम सम्पन्न हुने उनले बताए । सहजपुर-विपीनगर-बोगटान सडकको २९ देखि ३६ किलोमिटर सडक क्षेत्रमा कालोपत्रको काम बाँकी छ । यस्तै ३६ देखि ४५ किलोमिटरसम्म सडक चौडा पार्ने, पर्खाल निर्माण, वेस तथा सव-वेसको काम जारी रहेको मल्लले जानकारी दिए ।

विसं २०४४ देखि सहजपुर-विपीनगर-बोगटान सडकको ट्याक खोल्ने काम सुरु गरिएको थियो । कैलालीको सहजपुरदेखि डोटीको बडीकेदार गाडेबाँजसम्म ५० किलोमिटर सडक कालोपत्रका लागि ५ डिसेम्बर २०१८ मा पिएलआर-कुमार जेवीसँग सम्झौता गरिएको थियो । सम्झौताअनुसार १७ जुन सन् २०२१ मा सात मिटर चौडा कालोपत्र र कालोपत्रको दाँया-बाँया एक-एक मिटर सोल्जर (ग्रावेल) सडक निर्माण गरिसक्नु पर्नेछ ।

एक्जिम बैङ्क अफ इन्डियाको ऋण सहयोगमा निर्माण हुन लागेको सो आयोजनाको सम्झौता रकम रु एक करोड ९६ लाख ९३ हजार तीन सय १२ अमेरिकी डलर रहेको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस