वाग्मती सफाइको पाँच सय हप्ता : २० हजार टन फोहोर निकालियो « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

वाग्मती सफाइको पाँच सय हप्ता : २० हजार टन फोहोर निकालियो


२५ मंसिर २०७९, आइतबार


काठमाडौँ । काठमाडौँ उपत्यकाको सभ्यताको स्रोत वाग्मती नदी सफाइको पाँच सय हप्ता नाघेको छ । यस अवधिमा सफाइ गरेर वाग्मतीबाट करिब २० हजार टन फोहर निकालिएको छ ।

विसं २०७२ जेठ ५ गते वाग्मती सफाइ महाअभियान सुरु भएको हो । त्यसयता प्रत्येक हप्ता शनिबार बिहान दुई घण्टा सफाइ गरिँदै आएको छ । साप्ताहिकरुपमा यसरी सफाइ गर्दा पनि अत्यधिक फोहर निकाल्ने गरिएको सफाइ महाअभियानले जनाएको छ ।

सफाइ महाअभियान सुरु भएको पाँच सय हप्ता पूरा हुँदा पनि वाग्मती पूर्णरुपमा सफा हुन सकेको छैन । सर्वसाधारणले वाग्मतीमा यसरी फोहर फाल्ने हो भने जति सफाइ गरे पनि कहिल्यै सफा बन्दैन । फोहर फाल्नेलाई जरिवाना गरिने व्यवस्था पूर्णरुपमा कार्यान्वयन हुन सकेको छैन ।

महाअभियान सुरु भएको साढे सात वर्षमा करिब १५ लाख अभियानकर्मीले स्वयंसेवकका रूपमा वाग्मती नदीको फोहर सङ्कलन गरेका छन् । स्वतःस्फूर्तरुपमा स्वयंसेवी अभियानमा सहभागी हुँदै आएका छन् । सफाइमा संलग्नलाई विभिन्न आरोप लगाउने काम भइरहेको अभियानकर्मी राम साहले बताए ।

सफाइ महाअभियान चलेपछि नदी किनारमा करिब १० हजारभन्दा बढी बिरुवा रोपिएको छ । वृक्षरोपणका कारण नदी किनारमा हरियाली छाएको छ । जागरणमूलक वाग्मती सफाइ महाअभियानबाट प्रभावित भएर मुलुकभर १०० भन्दा बढी स्थानमा सफाइ अभियान सुरु गरिएको छ । यसबाट नदीको सौन्दर्य बढेको साहले बताए ।

सफाइ महाअभियानबाट नदी किनारको अतिक्रमित जग्गा फिर्ता गरिएको छ । अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिमार्फत वाग्मती नदी किनारको दायाँ बायाँ २७ किलोमिटर ढल निर्माण गरिएको छ । एसियाली विकास बैङ्कको ऋण सहयोगमा सुरु भएको वाग्मती सौन्दर्यीकरण कार्यक्रम नदी किनारमा रहेका सुकुम्वासीका कारण प्रभावित भएको छ ।

अधिकार सम्पन्न वाग्मती समितिको सञ्चालक सदस्यसमेत रहेकी सफाइ अभियानकर्मी डा माला खरेल नदी किनारका सुकुम्वासीको व्यवस्थापन गरेर सुन्दरता बढाउन सूचना सार्वजनिक गरी काम भइरहेको बताइन् ।

काठमाडौँ महानगरपालिकाको समेत सहयोग लिएर छिटो सुन्दरता बढाउनका लागि नदी किनारका सार्वजनिक जग्गा खाली गर्न लागिएको उनले जानकारी दिइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस