सरकार बनाउन हामी नै निर्णायक हुन्छौँ : सीके राउत « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

सरकार बनाउन हामी नै निर्णायक हुन्छौँ : सीके राउत


१८ मंसिर २०७९, आइतबार


काठमाडौँ । जनमत पार्टीका अध्यक्ष सीके राउतले संसदमा बहुमत पुर्‍याउन आफूहरू निर्णायक हुने बताएका छन् । उनले सरकार गठनका लागि आफ्नो पार्टीले पाएको सिट संख्या निर्णायक हुने बताएका हुन् ।

‘जनमत पार्टीले अहिले ल्याएको सिट सङ्ख्या निर्णायक छ । सरकार गठनका लागि संसद्मा बहुमत पुर्‍याउनका लागि हाम्रो छ सिट निर्णायक हुन्छ । प्रदेशमा पनि जनमत पार्टीको समर्थन बेगर सरकार बन्न सक्ने अवस्था रहन्न’ उनले भने ।

जनमत पार्टीले प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १ सिट जितेको छ भने समानुपातिकतर्फ आइतबार दिउँसोसम्म १ करोड ४ लाख २० हजार मत गन्दा ३ लाख ९४ हजार ५२३ मत पाएको छ । त्यस्तै प्रदेश २ मा प्रत्यक्षमा ६ सिट र समानुपातिकमा काँग्रेस र एमालेपछि तेस्रो स्थानमा छ । २० लाख ८६ हजार मत गणना हुँदा जनमत पार्टीले ३ लाख २९ हजार मत पाएको छ । आफूहरूको समर्थनविना सरकार नबन्ने अवस्थामा डेडलक हुन नदिने राउतले बताए ।

निर्वाचनबाट कसैको पनि बहुमत नआउँदा पार्टीहरूमा अहम्को स्थिति भने नदेखिने र एक अर्कामा सहकार्यको सम्भावना बढाएको राउतले बताए ।

मतदाताले परिवर्तनका लागि आफूहरूलाई मत दिएको भन्दै अध्यक्ष राउतले त्यसलाई खेर जान नदिने बताए । नागरिकले मतदानमार्फत व्यक्त गरेको परिवर्तनको आवाजलाई अन्य दलले पनि सुन्नुपर्ने उनको भनाइ छ ।

उनले आफूहरूको माग र मुद्दाप्रति सकारात्मक दलसँग मिलेर सरकारमा जाने पनि बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस