आचारसंहिता उलंघन गर्दै शहरी विकास मन्त्री चौधरीले बाँडे चामल « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

आचारसंहिता उलंघन गर्दै शहरी विकास मन्त्री चौधरीले बाँडे चामल


३० आश्विन २०७९, आइतबार


काठमाडौँ । सरकारका अधिकांश मन्त्रीले निर्वाचन आचारसंहिता विपरित सरकारी गाडीको दुरुपयोग गर्दै प्रचारप्रसारमा सरिक भइरहेका छन्।

निर्वाचनसम्बन्धी आचारसंहिता २०७९ अनुसार सरकारका मन्त्रीहरूले निर्वाचन प्रचारप्रसारमा सरकारी गाडी र सरकारी साधनस्रोत प्रयोग गर्न पाउँदैनन्। तर, सरकारका झन्डै १४ मन्त्री अहिले मन्त्रालयका विभिन्न साधनस्रोत र गाडीको दुरुपयोग गर्दै चुनाव प्रचार र घरदैलो गरिरहेका छन्। केही मन्त्रीले त राहतका नाममा चामलसमेत वितरण गरेर निर्वाचन आचारसंहिताको धज्जी उडाएका छन्।

मन्त्रीहरूले मन्त्रालयबाट जिल्लामा जाँदा त्यसको जानकारी अनिवार्य प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा गराउनुपर्छ। जिल्ला भ्रमण गर्दा प्रधानमन्त्री कार्यालयबाट भ्रमण स्वीकृतसमेत गराउनुपर्छ तर अधिकांश मन्त्री जिल्ला भ्रमणमा रहे पनि कसैले पनि भ्रमण स्वीकृत नगराएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ।

सो कार्यालयका अनुसार हाल चुनाव क्रममा सहरी विकासमन्त्री मेटमणि चौधरी, परराष्ट्रमन्त्री नारायण खड्का, सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की, शिक्षामन्त्री देवेन्द्र पौडेल, युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजलगायत जिल्लामा रहेका छन्।

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आचारसंहिता २०७९ उल्लंघन भए उम्मेदवारको उम्मेदवारी रद्दसमेत हुन सक्ने चेतावनी दिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस