ज्याला नपाउँदा मजदुरले पाएनन् दसैँ मनाउन  « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

ज्याला नपाउँदा मजदुरले पाएनन् दसैँ मनाउन 


१८ आश्विन २०७९, मंगलबार


काठमाडौँ । बडादसैँको उमङ्ग र उत्साह यतिबेला सबैतिर छ । यो पर्व मनाउन सबै आ-आफ्नो शक्ति र गच्छेअनुसार चाँजोपाँजो मिलाउन व्यस्त छन् । तर, कैलालीको चुरे गाउँपालिका क्षेत्रको सडकमा काम गर्ने मजदुर भने दुई वर्षदेखि पाउनुपर्ने ज्याला रकम नपाउँदा दसैँ कसरी मनाउने भन्ने चिन्तामा छन् ।

चाडपर्वले सबैतिर उत्साह छाइरहँदा आफूहरू ज्यालाका लागि भतारिनु पर्दा खल्लो महसुस भइरहेको पीडित स्थानीय प्रेम आचार्यले गुनासो गरे ।

खुटिया-दिपायल फास्ट ट्रयाक (द्रुत मार्ग)को हाटखोली सडक खण्डमा काम गरेका झण्डै एक सय ५० मजदुरलाई निर्माण कम्पनीले अहिलेसम्म ज्याला रकम नदिएको पीडित मजदुरले बताएका छन् ।

लामो प्रयासपछि ज्याला नपाएपछि निराश हुँदै कतिपय युवा कामदार कामको खोजीमा भारतको सिमलातर्फ हिँडेका छन् ।

यतिबेला स्याउ टिप्ने मौसम सुरु हुँदा काम पाउने आशामा मजदुर सिमलातर्फ गएको बताइएको छ । ज्याला रकम भुक्तानीमा सहयोग गरिदिन श्रम कार्यालय, वडा कार्यालय र प्रहरी निकायमा पुग्दा पनि आफूहरूको समस्या समाधान हुन नसकेको उनीहरूको गुनासो छ ।

मजदुरका समस्या बारेमा बुझ्न खोज्दा सडक निर्माणको ठेक्का पाएको अनिष्ठा निर्माण कम्पनीका रोशन आचार्यले टेलिफोनको सम्पर्कमा आउन चाहेनन् ।

खुटिया–दिपायल फास्ट ट्र्याकको निर्माणको काम सङ्घीय सरकारको सडक विभाग मातहतको निकायबाट भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस