चितवन मेडिकल कलेजले एक सय शय्याको क्यान्सर अस्पताल सञ्चालन गर्ने « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

चितवन मेडिकल कलेजले एक सय शय्याको क्यान्सर अस्पताल सञ्चालन गर्ने


१४ भाद्र २०७९, मंगलबार


काठमाडौँ । भरतपुरको चितवन मेडिकल कलेजमा एक सय शय्याको क्यान्सर अस्पताल सञ्चालनमा आउने भएको छ ।

कलेजको मातहत रहने गरी दसैँअघि नै क्यान्सर अस्पताल सञ्चालनको तयारी गरिएको अस्पतालका अध्यक्ष एवम् प्रबन्ध निर्देशक डा.हरिश्चन्द्र न्यौपानेले जानकारी दिए ।

अस्पताल सञ्चालनका लागि आवश्यक उपकरण अस्पतालमा ल्याएर जडान गरिएको डा.न्यौपानेले जानकारी दिए । दैनिक एक सय जनासम्मलाई रेडियसन सेवा दिन सकिने गरी रेडिएसन लिन्याक एक्सिलेरेटर जडान गरिएको डा.न्यौपानेले बताए ।

क्यान्सर उपचारकै लागि अस्पतालले ६ तले भवन निर्माण गरेको छ । इन्स्टिच्युटका रेडियसन अंकोलोजिष्ट डा।सुवास ठाकुरले टाउको भित्रको ट्यूमरलाई बिना शल्यक्रिया उपचार गर्ने प्रविधि पनि ल्याएको बताए ।

उनका अनुसार ब्रेकी थेरापीमार्फत् शरीरभित्र उपकरण राखेर रेडियो एक्टिभ सोर्स प्रयोग गरेर क्यान्सर कोष मार्ने प्रविधि पनि इन्ष्टिच्युटमा ल्याइँदै छ । पाठेघरको क्यान्सरमा यो प्रविधिको उपचार बढी हुने गर्दछ ।

भरतपुरमै रहेको वीपी कोइराला क्यान्सर अस्पतालमा क्यान्सरका बिरामीको संख्या हरेक बर्ष बढ्दै गएको छ ।

क्यान्सर अस्पतालको सीमित स्रोत र जनशक्तिका कारणले बायोप्सीको रिपोर्ट लिन कम्तीमा ४५ दिनमा र रेडियसन गर्न कम्तीमा १५ दिनदेखि ३ महिनासम्म कुर्नुपर्ने बाध्यता छ । कतिपय बिरामीको रिपोर्ट आउनुअघि नै मृत्युसमेत हुने गरेको छ ।

उनले क्यान्सरका ५० प्रतिशतभन्दा बढी बिरामी उपचारका लागि भारत जाने गरेको पाइएको बताए । अस्पतालमा भारत, अमेरिका र चीनमा काम गरिरहेकाहरू समेत १६ जना क्यान्सरका विशेषज्ञ चिकित्सक रहने छन् ।

मेडिकल कलेजका प्रमुख प्रशासकीय अधिकृत प्रताप देवकोटाले अत्याधुनिक उपकरणहरू खरिदमा मात्रै १ अर्ब २७ करोड रुपैयाँ खर्च गरेको जानकारी दिए ।

रेडियसनसँगै ब्राकी थेरापी, स्पेक्ट सिटी स्क्यान, बोनम्यारो प्रत्यारोपण, रक्त क्यान्सरको उपचार, बाल क्यान्सरको उपचारसहित सबै खालका क्यान्सरको उपचारका लागि उपकरण खरिद गरिएको उनको भनाइ छ । अन्य उपकरण र भौतिक पूर्वाधारमा गरी दुई अर्ब रुपैयाँभन्दा बढी खर्च लाग्ने देवकोटाको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस