सिंहदरबार वैद्यखानामा चार महिनापछि पुनः औषधि उत्पादन सुरु, कर्मचारीले पनि पाए तलब « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सिंहदरबार वैद्यखानामा चार महिनापछि पुनः औषधि उत्पादन सुरु, कर्मचारीले पनि पाए तलब


२० असार २०७९, सोमबार


काठमाडौँ । सिंहदरबार वैद्यखाना विकास समितिमा त्रिफला बनाउन थालिएको छ। धेरै रोगमा प्रयोग गर्न सकिने हर्रो, बर्रो र अमलाबाट बन्ने त्रिफला चूर्ण उत्पादन पुनः सुरु भएको छ।

गुणस्तरीय आयुर्वेदिक औषधि उत्पादन गरी बिक्री वितरण गर्न स्थापना भएको सो विकास समितिमा चार महिनादेखि अन्य सबै औषधि उत्पादन रोकिएको थियो।

काम नभएपछि करिब ५० कर्मचारी दैनिक कार्यालय गएर हाजिर गरी फर्कने गरेकामा गत शुक्रबारदेखि फेरि उत्पादन सुरु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निमित्त कार्यकारी निर्देशकमा डा श्यामबाबु यादवलाई पठाएपछि यहाँबाट औषधिको उत्पादन फेरि सुरु भएको छ।

औषधि उत्पादन गर्ने समितिमा कामै नभएका बेला पूर्वनिमित्त कार्यकारी निर्देशक डा.सबरी साहले भने ज्यालादारी कर्मचारी राखेको भन्दै स्थायी कर्मचारीले विरोध गर्दै आएका थिए। साहले भने उत्पादन सुरु भएपछि धेरै कर्मचारी आवश्यक पर्ने जनाउँदै काम नभएको बेलामा पनि तलब खुवाएर राखेको दाबी गरेका थिए।

उत्पादन नभएपछि समितिको बिक्री कक्षमा अहिले च्यवनप्रास बाहेकका उत्पादन पाइँदैन। शुक्रबारदेखि उत्पादन सुरु भएको त्रिफला केही दिनदेखि समितिको बिक्री कक्ष एवं बजारमा समेत पठाइने जनाइएको छ।

षड्बिन्दु तेललगायत अन्य उत्पादन पनि केही दिनमै सुरु हुने भएको छ।

यस्तै उत्पादन र बिक्री नभएपछि चार महिनादेखि समितिका कर्मचारीले तलब पनि पाएका थिएनन्।

निमित्त कार्यकारी निर्देशक यादवले हाजिर भएको एक हप्तामा कर्मचारीलाई चार महिनाको तलब बैङ्क खातामा पठाएका छन्।

तलब नपाएपछि राजधानीमा डेरा लिएर बसेका कर्मचारी समस्यामा परेका थिए। व्यवस्थापनले समस्या समाधानका लागि काम नगरेको भन्दै कर्मचारीले दैनिक एक घण्टा निमित्त कार्यकारी निर्देशकको कार्यकक्षमा धर्ना दिँदै आएका थिए।

समितिमा उत्पादन घटेर कर्मचारीलाई तलब एवं अवकाश पाउनेले नियमानुसार पाउने उपदानका लागि पनि पैसा नहुने भएपछि कर्मचारीले २०७८ साउन २४ गतेदेखि अवकाश कोष खडा गर्न माग गर्दै दैनिक एक घण्टा धर्ना दिने गरेका छन्।

अवकाश कोष खडा गर्न माग राखेर धर्नामा बसेको एक वर्ष हुन लाग्दासमेत माग पूरा भएको छैन।

Tags :
प्रतिक्रिया दिनुहोस