पल शाहलाई थुनामा राख्ने आदेश सदर « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

पल शाहलाई थुनामा राख्ने आदेश सदर


२० जेष्ठ २०७९, शुक्रबार


काठमाडौँ । अभिनेता पल शाहलाई थुनामै राखेर बलात्कार मुद्दाको सुनुवाइ गर्नुपर्ने भनी दुई जिल्ला अदालतले गरेको आदेशलाई उच्च अदालत पोखराले सदर गरेको छ ।

नावालिका गायिकालाई बलात्कार गरेको आरोप लागेका कलाकार शाहलाई जिल्ला अदालत कास्की र नवलपुरले थुनामै राखेर मुद्दाको सुनुवाइ गर्नुपर्ने भनी आदेश गरेका थिए ।

दुवै अदालतको आदेश विरुद्ध कलाकार शाह उच्च अदालत पोखरा गएका थिए । उनले आफूलाई साधारण तारिखमा राखेर मुद्दाको सुनुवाइ गर्नुपर्ने माग गरेका थिए ।

न्यायाधीश उज्ज्वल शुक्ल र श्रीधराकुमारी पुडासैनीको इजलासले जिल्लाको आदेश सदर गरेको उपरजिस्टार विष्णुप्रसाद आचार्यले जानकारी दिए । आदेश उदृत गर्दै उनले भने, ‘जिल्ला अदालतबाट भएको आदेश वेरितको नदेखिँदा परिवर्तन गरिरहनु पर्दैन भन्ने आदेश भएको छ ।’

उच्च अदालतको आदेश विरुद्ध कलाकार शाहलाई सर्वोच्च अदालतमा निवेदन दिन पाउने बाटो खुला छ । सर्वोच्च अदालतले उच्च अदालत पोखराको आदेश सदर गरेमा कलाकार शाहले थुनामै बसेर दुईवटा बलात्कार मुद्दाको सामना गर्नुपर्छ ।

सर्वोच्च अदालतले उच्च अदालत पोखराको आदेश बदर गरेमा भने उनले धरौटी वा सामान्य तारिखमा बाहिर बसेर मुद्दा लड्ने सुविधा पाउनेछन् ।

उनी विरुद्धको बलात्कारका दुई मूल मुद्दा भने तनहुँ र नवलपुर जिल्ला अदालतमा विचाराधीन छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस