युगान्डाविरुद्धको शृङ्खलामा नेपालको पहिलो जित « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

युगान्डाविरुद्धको शृङ्खलामा नेपालको पहिलो जित


६ जेष्ठ २०७९, शुक्रबार


काठमाडौँ । युगान्डाविरुद्ध घरेलु मैदानमा आयोजित ऐतिहासिक टी-२० शृङ्खलाको चौथो खेलमा नेपालले पहिलो जित हासिल गरेको छ ।

अघिल्ला तीनै खेलमा पराजित भएर शृङ्खला गुमाएको नेपालले बिहीबार १५ रनको जित रचेको हो ।

वर्षाका कारण मैदानमा पानी जमेपछि ढिला सुरु भएको खेल १८ ओभरमा झारिएको थियो । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले इनिङको अन्तिम बलमा सबै विकेट गुमाएर ९७ रनको योगफल खडा गरेको थियो ।

टस जित नेपालका लागि ओपनर ज्योति पाण्डेले १३ बलमा १७ रनको पारी खेलिन् । ओपनसङमा राम्रो खेलेको नेपालले लामो साझेदारीलाई निरन्तरता दिन सकेन ।

अर्की ओपनर ब्याटर बिन्दु रावल १६ रनमा आउट भइन्। तेस्रो क्रममा आएकी ईन्दु बर्मा १ रनमा बोल्ड आउट भइन् ।

चौथो क्रमकी सीता राना मगर ११ रन बनाएर रन आउट भइन् । त्यसपछि आएका सरिता मगरले २ र कप्तान रुविना क्षेत्रीले १ रन मात्र बनाउन सके । अप्सरी बेगमले ४ र डली भट्टले ६ रन मात्र जोड्न सके ।

युगान्डाको लागि कोन्की ओन्केले सर्वाधिक ३ विकेट लिइन् । सारा अकितेङले समान २ र जानेत बाबाजीले १ विकेट लिए ।

९८ रनको लक्ष्य पछ्याएको युगाण्डाले निर्धारित १८ ओभरमा ८ विकेट गुमाएर ८२ रन मात्र जोड्न सक्याे । युगान्डाको लागि भने ओपनर केविन वेन्को १८ बलमा ११ रन बनाउँदै रन आउट भइन्। अर्की ओपनर लियोना बर्वीले खाता खोल्न सकिनन् । तेस्रो क्रमकी जनेत बाबजीले टिमका लागि सर्वाधिक २१ रनको योगदान गरिन् । रिता न्याण्डो र इभ्ल्यान अन्युपोले समान १६ रनको योगदान गरे ।

नेपालका लागि डेब्यू खेल खेलेकी हिरनान्माये रोयले सर्वाधिक २ विकेट लिइन् । रुविना क्षेत्री र अस्मिना कर्मचार्य, कविता कुँवरले समान १–१ विकेट लिए ।

यस अघि सिरिजमा तीन खेल हार्दै सिरिज गुमाएको नेपालका लागि यो सान्तवना जित रहेको छ । नेपालले पहिलो खेल १२ रन, दोस्रो खेल १ विकेट र तेस्रो खेल ६ विकेटले पराजित हुँदै शृङ्खला गुमाएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस