थासाङको अध्यक्षमा एमाले, उपाध्यक्षमा काँग्रेस विजयी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

थासाङको अध्यक्षमा एमाले, उपाध्यक्षमा काँग्रेस विजयी


१ जेष्ठ २०७९, आइतबार


म्याग्दी । मुस्ताङको थासाङ गाउँपालिकाको अध्यक्षमा नेकपा एमाले र उपाध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् ।

आइतबार सम्पन्न मतगणनामा गाउँपालिका अध्यक्षमा एमालेका प्रदीप गौचनले एक हजार १४४ मत ल्याएर विजयी भए ।

उपाध्यक्षमा नेपाली काँग्रेसका सोमल हिराचनले एक हजार ११२ मत ल्याएर विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

अध्यक्षमा काँग्रेसका उम्मेदवार बालकुमारी शेरचनले एक हजार ५५ र उपाध्यक्षमा एमालेका उम्मेदवार सुमिता शेर्पाले एक हजार ८० मत पाए । अध्यक्ष ८९ र उपाध्यक्षमा ३२ मतान्तरले जितेका हुन् ।

गत स्थानीय तह चुनावमा थासाङको अध्यक्ष उपाध्यक्ष दुवै पदमा नेपाली काँग्रेसले जितेको थियो ।

थासाङको वडा नं १ मा काँग्रेसका सुरेश थकाली, २ मा एमालेका गौतम शेरचन, ३ मा काँग्रेसका हरिप्रसाद गौचन, ४ मा काँग्रेसकै नरेन्द्र शेरचन र ५ मा काँग्रेसका रुपेश तुलाचन विजयी भएका छन् ।

दुई हजार ७४७ जना मतदाता रहेको थासाङ गाउँपालिकामा शुक्रबार भएको मतदानमा दुई हजार २४० मत खसेको थियो । मुस्ताङको पाँच वटै स्थानीय तहको मतगणना सकिएको छ ।

घरपझोङ गाउँपालिकाको अध्यक्ष उपाध्यक्षमा काँग्रेस, वारागुङ मुक्तिक्षेत्र, लोघेकर दामोदर कुण्ड र लोमान्थाङ गाउँपालिकाको अध्यक्ष उपाध्यक्षमा एमालेले जितेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस