केही ठाउँमा उम्मेदवारकै प्रतिनिधिबाट भन्न लजाउनुपर्ने घटना भए : प्रमुख आयुक्त थपलिया « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

केही ठाउँमा उम्मेदवारकै प्रतिनिधिबाट भन्न लजाउनुपर्ने घटना भए : प्रमुख आयुक्त थपलिया


३० बैशाख २०७९, शुक्रबार


काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राजनीतिक दल र उम्मेदवारहरूबाटै मतदानलाई प्रभावित पार्ने प्रयास भएकोप्रति दुःख व्यक्त गरेका छन् । उनले केही ठाउँमा उम्मेदवारकै प्रतिनिधिबाट भन्न लजाउनुपर्ने घटना भएको बताए ।

उनले आयोगका तर्फबाट भएका कमजोरीलाई स्विकार्न तयार रहेको र सच्याउनसमेत प्रयास गर्ने बताए ।

‘आयोग वा आयोगका कर्मचारी वा सुरक्षाकर्मीका कारणले गडबडी भएको भए त्यसको जिम्मेवारी आयोगले लिन्छ । आयोगले सुरुवातदेखि नै शान्तिपूर्ण रूपमा मतदानमा सहभागी भइदिनुस् भनेको थियो । कतिपय ठाउँमा त्यसको पालना भएन,’ उनले भने ।

‘यति तयारी गरेर भइरहेको मतदान रोकौँ भनेर सांसद र स्थानीय नेतृत्वबाटै प्रस्ताव आएका छन् । कतिपय ठाउँमा त उम्मेदवारकै प्रतिनिधिले मतपेटिकामा आक्रमण गर्ने काम भएको छ, यो त लज्जास्पद कुरा भयो,’ उनले भने ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले सप्तरी, बझाङ, बारा र रौतहटका केही मतदान केन्द्रहरूमा अप्रत्याशित र अवाञ्छित गतिविधिहरू भएको बताए ।

‘उम्मेदवारका प्रतिनिधिबाटै त्यस्ता गतिविधि भएका छन्, दलका नेता र उम्मेदवारहरूबाटै त्यस्तो घटना घटाइनु दुःखद कुरा हो । कतिपय घटना त मैले भन्नसमेत लजाउनुपर्ने अवस्था छ,’ उनले भने । उनले बेलुकी ५ बजेसम्म ७२ प्रतिशतसम्म मतदान हुने अनुमान रहेको बताए ।

‘देशैभरि सबै मतदान केन्द्रमा मतदान भइरहेको छ । अहिलेसम्म सरदर ४६ प्रतिशत मतदान भइसकेको छ । केहीको हकमा त्यो ७० प्रतिशतसम्म र केहीमा १८/२० प्रतिशत मात्रै पनि छ,’ उनले भने, ‘५ बजेभित्र मतदानस्थलमा प्रवेश गरिसकेको मान्छेले राति ९ बजेसम्म लागे पनि मतदान गर्न पाउँछ, हामीले ६५ देखि ७० प्रतिशतसम्म मतदान गर्ने अनुमान गरेका छौँ ।’

उनले देशभर ३२ वटा केन्द्रमा दुई पक्षीय झडप र विवादका कारण मतदान कार्य स्थगित भएको जानकारी दिए । ‘स्थगित हुनु भएको भनेको रद्द हुनु होइन । हामी हर सम्भव प्रयास गरेर मतदान सुरु गर्ने प्रयास गरिरहेका छौँ, बेलुकासम्मै यो प्रयास रहन्छ,’ उनले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस