टिमले हारेर आफूले मात्रै जित्ने सपना नदेख्न प्रकाशमान सिंहको चेतावनी « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

टिमले हारेर आफूले मात्रै जित्ने सपना नदेख्न प्रकाशमान सिंहको चेतावनी


२७ बैशाख २०७९, मंगलबार


काठमाडौँ। नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले स्थानीय तह निर्वाचनमा आफ्नो टिमलाई नजिताईकन आफूले मात्रै जित्ने सपना नदेख्न चेतावनी दिएका छन् ।

मंगलबार बिहान चन्द्रागिरि नगरपालिकामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता सिंहले आफूलाई मात्रै नभएर सबैलाई भोट माग्न कार्यकर्ताहरूलाई आग्रह गरे। ‘यो बहुदल अन्तर्गतको चुनाव हो’ उनको भनाइ छ, ‘यहाँ टिमलाई भोट माग्ने काम गर्नुपर्‍यो । वडाध्यक्षहरूले आफ्नो वडा सदस्य, मेयर र उपमेयरलाई भोट मोर अगाडि जानुपर्छ ।’

चन्द्रागिरिमा सत्ता गठबन्धनका नेपाली काँग्रेस, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाबिच तालमेल भएको छ । प्रमुखमा काँग्रेसबाट घनश्याम गिरि र उपप्रमुखमा राष्ट्रिय जनमोर्चाबाट रोशन दानी उपप्रमुखका उम्मेदवार छ ।

सिंहले एक्लै जित्ने सपना नदेख्न समेत कार्यकर्तालाई चेतावनी दिए । ‘आफैँ जितौँ, आफैँ जितौँ भन्ने त्यो आफ्नो ठाउँमा होला तर टिमले नजितीकन आफूले मात्रै जित्ने भन्ने सपना नदेखे हुन्छ’ उनको भनाइ छ, ‘३० गते आफ्नो टिम, मेयर, उपमेयर, वडाध्यक्ष, सदस्यलाई जिताउने गरी प्रचार–प्रसार गर्नुभयो भने राम्रो हुन्छ ।’

गठबन्धन किन भन्ने बुझ्न आवश्यक भएको भन्दै सिंहले नेपाली काँग्रेसले सबैलाई मिलाएर संविधान सभाबाट संविधान जारी गरेको स्मरण गर्न समेत आग्रह गरे।

‘गठबन्धन किन भयो भन्ने कुरा बुझ्न आवश्यक छ’ उनको भनाइ छ, ‘विरोध गर्नलाई सजिलो छ । तर, हामी सबैले याद गरौँ, प्रथम संविधानसभाबाट जारी गर्न नसकेको संविधान दोस्रो संविधानसभाबाट काँग्रेसको नेतृत्वमा सबैलाई समन्वय गरेर २०७२ सालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी गरेको हो नि ।’

Tags :
प्रतिक्रिया दिनुहोस