रुकुम पश्चिममा काँग्रेस र माओवादी कार्यकर्ताबीच झडप « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

रुकुम पश्चिममा काँग्रेस र माओवादी कार्यकर्ताबीच झडप


२२ बैशाख २०७९, बिहिबार


रुकुम । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर ९ मा काँग्रेस र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएको छ ।

काँग्रेस कार्यकर्ताले माओवादीका पोस्टर र झन्डा फालेपछि भएको विवादले झडप भएको हो ।

झडपका क्रममा काँग्रेसका तर्फबाट गाउँपालिका अध्यक्षका उम्मेदवार चढेको गाडीमा तोडफोड भएको छ ।

माओवादी कार्यकर्ताले आज (बिहीबार) बिहान उम्मेदवार अमरसिंह खड्का चढेको गाडी तोडफोड गरेको प्रहरीले जनाएको छ ।

खड्काले प्रयोग गरेको रा१च १२६२ नम्बरको जिप तोडफोड भएको हो । दुई पक्षका कार्यकर्ताबीचको झडपको क्रममा गाडी तोडफोड भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख, प्रहरी नायब उपरीक्षक विष्णुप्रसाद सोतीले जानकारी दिए ।

उनका अनुसार थोरै जनशक्ति हुँदा भीड नियन्त्रण गर्न गाह्रो भएको छ ।

नेपाली काँग्रेसले माओवादीको आक्रमणबाट बच्न प्रहरी चौकीमा गएका आफ्ना कार्यकर्ता प्रहरीकैअघि कुटिएको आरोप लगाएको छ ।

बुधबारमात्रै तरुण दलका कार्यकर्ताहरूले वाईसीएल कार्यकर्ताको मोटरसाइकल रोकेर अभद्र व्यवहार गरेका थिए । त्यसै कारण दुई पार्टीका कार्यकर्ताबीच विवाद भएको हो ।

काँग्रेस कार्यकर्ताले वडा कार्यालय र माओवादीका स्थानीय नेता चुडामणि बस्नेत र डिलबहादुर विकको घरमा तोडफोड गरेको, केराका बोट काटिदिएको, घरबाट लत्ताकपडा फालिदिएको माओवादीको आरोप छ ।

काँग्रेस कार्यकर्ताले माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवार जनक विक, स्थानीय नेता बस्नेत र अर्का एक व्यापारीको मोटरसाइकल तोडफोड गरिदिएका थिए । विवाद बढ्दै गएपछि दुवैपक्षकाबीच हात हालाहाल समेत भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस