वडाध्यक्ष उम्मेदवारले पसलको सामान लुटेको भन्दै धादिङ प्रहरीमा उजुरी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

वडाध्यक्ष उम्मेदवारले पसलको सामान लुटेको भन्दै धादिङ प्रहरीमा उजुरी


२२ बैशाख २०७९, बिहिबार


काठमाडौँ । । बिक्रीका लागि सदरमुकामबाट खरिद गरी गाउँ लैजाँदै गरेको सामान नेपाली काँग्रेस वडा अध्यक्षका उम्मेदवारले लुटेको पसल व्यवसायीले आरोप लगाएका छन् । वडा अध्यक्षबाटै पसलको सामान लुटिएको भन्दै धादिङको गंगाजमुना गाउँपालिका तावेलका एक व्यवसायी न्याय माग्न सदरमुकाम धादिङ बेसी पुगेका छन् ।

धादिङको उत्तरी भेगमा पर्ने गंगाजमुना गाउँपालिका वडा नम्बर २ तावेलमामा रहेको रहेला रोजी एण्ड रोजन इन्टरप्राइजेज नामको होलसेल पसलमा बिक्रीका लागि लैजाँदै गरिएको करिब चार लाख मूल्य बराबरको सामान सोमबार गाउँ नपुग्दै लुटिएको पसलका सञ्चालक रेसम तामाङले बताए ।

सदरमुकाम धादिङबेसीबाट खरिद गरी दुई वटा ट्रकमा राखेर गाउँ लैजाँदै गरेको दाल, चिनी, प्लाई, पेट्रोल, डिजेल, चामल, खानेपानी पाइपसमेत गरी चार लाख मूल्य बराबरको सामान लुटिएको तामाङले बताए ।

सामान लुटपाटमा नेपाली काँग्रेसका तर्फबाट वडा अध्यक्षका उम्मेदवार बलबहादुर तामाङ संलग्न रहेको भन्दै दोषीमाथि कारबाही गर्न र लुटिएको सामान फिर्ता गरिदिन पसल सञ्चालक तामाङले बुधबार जिल्ला प्रहरी कार्यालय धादिङमा जाहेरी दिएका छन् ।

सामान बोकेर जाँदै गरेको ट्रकलाई चिमचोक गाउँको वनबाट अघि बढ्न नदिई गुम्दीतर्फ फर्काएर वडाध्यक्ष उम्मेदवार बलबहादुरको समूहले लुटेको जाहेरीमा उल्लेख छ ।

जिल्ला प्रहरी कार्यालयले जाहेरी प्राप्त हुनासाथ जिल्ला प्रशासनलाई पठाएको जनाएको छ । प्रशासन कार्यालयले पनि इलाका प्रहरी कार्यालय फुलखर्क गंगाजमुनालाई बुधबार नै पत्र पठाइ घटनाको यथार्थ बुझी हराएको सामान खोजी गर्न प्रहरीलाई निर्देशन दिएको छ ।

नेपाली काँग्रेसको टोलीले भने पसलको सामान सँगै चुनावको मुखमा गाउँमा बाँड्न एमालेका उम्मेदवारले पाइप ल्याएको सूचनाका आधारमा ४८ रोल पाइप नियन्त्रणमा लिएको बताएका छन् ।

नेपाली काँग्रेसका उम्मेदवारहरूले लगाएको आरोप झुटो भएको एमाले धादिङका इन्चार्ज एवम् प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ का सांसद खेम प्रसाद लोहनीले बताए । उनले तत्काल सामान फिर्ता गरिदिन र दोषीलाई कारबाही गर्न पनि आग्रह गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस