दश दिनदेखि उपत्यकाको फोहोर सडकमा « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

दश दिनदेखि उपत्यकाको फोहोर सडकमा


२० बैशाख २०७९, मंगलबार


काठमाडौँ । पासाङल्हामु राजमार्गका स्थानीयको अवरोधका कारण काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन कार्य दश दिनदेखि रोकिएको छ ।

पासाङल्हामु राजमार्ग मर्मतको जिम्मा पाएको निर्माण व्यवासायीद्वारा पटक पटक काम रोकिँदा त्यसको प्रत्यक्ष असर भने काठमाडौँ उपत्यकाको नागरिकले भोग्नुपरेको छ ।

पछिल्लो समय यही वैशाख ११ गतेदेखि पुनः काठमाडौँ उपत्यकाको १८ स्थानीय तहको फोहोर व्यवस्थापन कार्य रोकिएको छ । हाल फोहोर विसर्जन गरिएको स्थान नुवाकोटस्थित सिसडोलसम्म पुग्ने बाटो मर्मतको काम समयमै नगरेको भन्दै पासाङल्हामु राजमार्गका बासिन्दाको अवरोधका कारण सडकमै फोहोर रोकिएको हो ।

काठमाडौँ महानगरपालिकाले केही दिन नेपालटार हुँदै वैकल्पिक बाटोमार्फत फोहोर व्यवस्थापन गरे पनि नियमित परेको वर्षा र उक्त स्थानका स्थानीयले फोहोरको गाडी लान नदिने भनेपछि अहिले फोहोर लाने काम पूर्ण रुपमा ठप्प भएको छ ।

लामो समयसम्म सडकमा फोहोर थुप्रिदा आवतजावत गर्न समस्या भएको छ । फोहोर विसर्जनका लागि दीर्घकालीन समाधानका प्रयास हुन नसक्दा पटक पटक समस्या उत्पन्न भएको कामपा वातावरण विभाग प्रमुख सरिता राईले बताइन् ।

उनका अनुसार विसं २०७० देखि सुरु गरिएको सडक हालसम्म पनि सम्पन्न हुन नसकेपछि स्थानीयको पटक पटकको अवरोधका कारण फोहर विसर्जनमा अवरोध हुँदै आएको छ ।

‘यस्तो विषयमा केन्द्र सरकार संवेदनशील हुनुपर्छ’, राईले भनिन्, ‘त्यसका लागि बाटो छिटो मर्मत गर्न सम्बन्धित निकायले पहल गर्नुपर्छ ।’ उक्त स्थान भरिएकाले फोहर व्यवस्थापनमा थप समस्या हुन थालेको हो ।

हाल फोहर व्यवस्थापन भइरहेको स्थानभन्दा दुई किलोमिटर पर बञ्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन फोहोर व्यवस्थापन स्थलको काम निर्धारित समयमा सम्पन्न हुन नसक्दा पनि समस्या आएको कामपाले जनाएको छ ।

हरेक दिन उपत्यकाबाट एक हजार २०० मेट्रिक टन फोहोर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ । यसमध्ये सबैभन्दा बढी कामपाको ५०० मेट्रिक टन फोहोर निस्किने गर्दछ । निजी र कामपाको गरी दैनिक कम्तीमा २०० गाडी फोहोर लाने गरिन्छ ।

उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहोरमध्ये करिब ७५ प्रतिशत फोहोर सिसडोलमा व्यवस्थापन गरिँदै आएको छ । स्थानीयकै अवरोधका कारण गत फागुन र चैत महिनामा पनि ३२ दिन फोहोरको अन्तिम व्यवस्थापन हुन सकेन ।

नियमित पानी पर्न सुरु गरी सकेको र वर्षाको समयमा अन्य समयको भन्दा बढी फोहोर निस्कने हुँदा आगामी दिन फोहोर व्यवस्थापनका हिसाबले थप कठिनाइ हुने कामपाको भनाइ छ ।

फोहोरकै करण आउने दिन उपत्यकामा ठुलो समस्या आउने भन्दै प्रमुख राईले उक्त समस्या समाधानको लागि केन्द्र सरकारले तत्काल समाधानको पाटो खोज्नुपर्ने बताउँछिन् ।

Tags :
प्रतिक्रिया दिनुहोस