‘एमालेले स्वाधीनता र राष्ट्रिय एकताका पक्षमा आवाज उठाएको छ’ « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

‘एमालेले स्वाधीनता र राष्ट्रिय एकताका पक्षमा आवाज उठाएको छ’


१४ बैशाख २०७९, बुधबार


काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले पार्टीले सधैँ स्वाधीनता र राष्ट्रिय एकताका पक्षमा आवाज उठाउँदै आएको बताएका छन् ।

नेकपा एमाले, सम्पर्क समन्वय कमिटीले हिजो (मंगलबार) आयोजना गरेको कार्यक्रममा उनले नागरिकलाई राष्ट्रिय स्वाधीनताको विषय सबैभन्दा प्रिय भएको र एमालेले सधैँ राष्ट्रिय स्वाधीनता र स्वतन्त्रताको रक्षामा लागेको बताए ।

नेपालमा छ दशक समय राजनीतिक लडाइँमा र अधिकार प्राप्तिमा लाग्दैमा बितेको र अहिले त्यो अवस्था नभएको महासचिव पोखरेलले बताए । भारत र चीन दुवै छिमेकी देशहरु नेपालसँग रेललगायतका पूर्वाधारमा सहकार्य गर्न चाहेको उनको भनाइ छ ।

भारतले भारतीय रेल वीरगन्ज हुँदै काठमाडौँ र चीनले केरुङबाट काठमाडौँ हुँदै लुम्बिनीसम्म रेल यातायातको विस्तारमा चासो देखाएको उनले बताए ।

अहिले समयसँगै स्वाधीनताको सोच बदलिएको र यसले माटोको रक्षा मात्रै होइन आकाशको अधिकार पनि हो भन्ने धारणा रहेको उनले बताए ।

अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले दुवै छिमेकी देशसँगको सम्बन्ध सुमधुर बनाएको उनको भनाइ छ । भारतसँग सम्बन्धमा रहेका समस्या सुल्झाएको र चीनसँगको सम्बन्ध विस्तार गरिएको उनको भनाइ छ ।

पार्टी नेतृत्वको सरकारले पेट्रोलियम पदार्थ ढुवानीका लागि पाइपलाइन र विद्युत् भार कटौती हटाउन पहल गरेको उनको भनाइ छ । उनले भने, ‘विगतदेखि नै रहेको डुबानको समस्या अध्ययन गरेर समाधान अघि बढाइएको थियो ।’

Tags :
प्रतिक्रिया दिनुहोस