भोलिदेखि नै मतपत्र ढुवानी गरिने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

भोलिदेखि नै मतपत्र ढुवानी गरिने


१२ बैशाख २०७९, सोमबार


काठमाडौँ । निर्वाचन आयोगले मंगलबारदेखि मतपत्र ढुवानी सुरु गर्ने भएको छ ।

निर्वाचन आयोगले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता शालिग्राम शर्मा पौडेलले ८० प्रतिशत मतपत्र छपाईको काम सकिएको र बाँकी मत पत्रको पनि छपाई जारी रहेको बताए ।

‘निर्वाचन आयोगले ७७ वटै जिल्लामा निर्वाचन सामग्री पठाउने क्रम पूरा गरेको छ । वैशाख १३ गतेदेखि मतपत्र ढुवानी सुरु गर्ने तयारी भएको छ’ प्रवक्ता पौडेलले भने ।

उनका अनुसार हालसम्म ६८ जिल्लाका लागि १ करोड ५४ लाख ८३ हजार मत पत्र छपाई सकिएको छ । निर्वाचन आयोगले एक करोड ९४ लाख मतपत्र आवश्यक पर्ने अनुमान गरेको छ । आयोगले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न सम्बन्धित सबै पक्षलाई पनि सचेत गराएको छ ।

निर्वाचन आयोगले सरुवा, पदस्थापन वा काजमा खटाइएका कर्मचारीहरुलाई निर्वाचन सम्पन्न गराउने प्रयोजनका लागि तोकिएको ठाउँमा यही बैशाख १५ गते भित्र अनिवार्य रुपमा हाजिर हुने व्यवस्था मिलाउन पनि सम्बन्धित पक्षलाई पुनः निर्देशन दिएको छ ।

निर्वाचन आयोगले हालसम्म निर्वाचनको पर्यवेक्षणका लागि ६८ वटा संस्थाहरुले अनुमति लिएको पनि जनाएको छ । ती संस्थाका करिव २० हजार पर्यवेक्षकहरुलाई आयोगको परिचय पत्रसहित मतदान केन्द्रहरुमा परिचालन गरिने पनि आयोगका प्रवक्ता पौडेलले बताए ।

निर्वाचन आयोगले आयोगका सहसचिव तुलसीबहादुर श्रेष्ठ र सहन्यायाधिवक्ता गुरु वाग्लेलाई निर्वाचन सूचना सम्प्रेषण अधिकारी पनि तोकेको छ । आयोगका प्रवक्ता र सहप्रवक्ताको अतिरिक्त उनीहरुले पनि निर्वाचनको सूचना दिने पौडेलले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस