एसइईमा जापानबाट १९ विद्यार्थी, नेपालमा पाँच विदेशी सहभागी « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

एसइईमा जापानबाट १९ विद्यार्थी, नेपालमा पाँच विदेशी सहभागी


११ बैशाख २०७९, आइतबार


काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई) २०७८ मा जापानबाटसमेत १९ जना नेपाली विद्यार्थी सहभागी छन् ।

जापानको टोकियोस्थित एभरेस्ट इन्टरनेशनल स्कुलमा तोकिएको परीक्षा केन्द्रबाट ती विद्यार्थीले परीक्षा दिइरहेका छन् ।

सो केन्द्रमा जापानस्थित नेपाली दूतावासबाट अनुगमन भइरहेको छ ।

उक्त विद्यालयमा नेपाल सरकारबाट स्वीकृत पाठ्यक्रम लागू गरिएकाले नेपाल सरकारको राष्ट्रिय परीक्षा बोर्डको कार्यतालिका बमोजिम परीक्षा सञ्चालन भएको हो ।

त्यहाँका विद्यार्थीका लागि नेपालबाटै प्रश्न पत्र पठाइएको छ भने विद्यालयका प्रधानाध्यापकलाई केन्द्राध्यक्ष तोकिएको राष्ट्रिय परीक्षा बोर्ड मातहतको माध्यमिक शिक्षा परीक्षा, कक्षा १० का कामु परीक्षा नियन्त्रक अर्जुन रायमाझीले जानकारी दिए ।

यही वैशाख ९ गतेदेखि सुरु भएको यो परीक्षामा ललितपुरबाट पाँच जना विदेशी विद्यार्थीले नेपालमा रहेर परीक्षा दिइरहेका छन् ।

अघिल्ला दुई वर्षमा कोभिड—१९ का कारण आन्तरिक मूल्याङ्कनबाट परीक्षा सम्पन्न भएकामा यस वर्ष भौतिक उपस्थितिमा केन्द्र स्तरबाट परीक्षा सञ्चालन भएको हो ।

पाँच लाख १४ हजार ९७७ विद्यार्थीले आवेदन दिएको परीक्षामा कूल दुई हजार सात परीक्षा केन्द्र तोकिएका छन् ।

परीक्षामा दुई लाख ५७ हजार ९२४ छात्रा र दुई लाख ५७ हजार ५३ छात्र रहेका छन् ।

परीक्षामा ग्रेड वृद्धितर्फ ११ हजार ४५४ र प्राविधिक धारतर्फ १४ हजार ५६४ विद्यार्थी रहेको परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले जनाएको छ ।

देशभरबाट पहिलो र दोस्रो दिनको अनुपस्थित परीक्षार्थी सङ्ख्या सङ्कलन भई नसके पनि काठमाडौँमा कूल ३६ हजार परीक्षार्थीले आवेदन दिएकामा एक हजार एक सय विद्यार्थी अनुपस्थित रहेको पाइएको छ ।

परीक्षामा कूल ६१ विषयका विद्यार्थी संलग्न छन् । परीक्षाका लागि केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, परीक्षा सहायक र सुरक्षाकर्मी गरी करिब ७० हजार जनशक्ति खटिइएका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल, बोर्डका अध्यक्ष महाश्रम शर्मा, मन्त्रालयका सचिव यादव कोइराला, नियन्त्रक रायमाझी लगायत उच्चाधिकारीले परीक्षाबारे नियमित जानकारी लिई आवश्यक सहजीकरण र निर्देशन दिइरहेका छन् ।

यही वैशाख २० गतेसम्म सञ्चालन हुने परीक्षाको दोस्रो दिन आज परीक्षा सञ्चालन निरीक्षणका क्रममा परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीमा भेटिएका अध्यक्ष शर्माले हालसम्मको परीक्षा शान्तिपूर्ण, व्यवस्थित र मर्यादितरुपमा भएको बताए । बोर्डले विभिन्न जिल्लामा परीक्षाको अनुगमन पनि गरिरहेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पौडेलले सङ्घीय शिक्षा ऐन निर्माण भई नसकेकाले यस वर्षसम्म केन्द्रबाटै एसइई सञ्चालन भएको र आगामी दिनमा प्रदेशस्तरबाट सञ्चालन गराउन नीतिगत निर्णय भइसकेको राससलाई बताए ।

आगामी दिनमा प्रदेश स्तरमा प्रश्न पत्र निर्माण, परीक्षा व्यवस्थापन, सञ्चालन र उत्तर पुस्तिका समपरीक्षणलगायतका कार्य हुनेछ भने बोर्डबाट अभिलेखीकरण र परीक्षाफल प्रकाशनका कार्य हुने नियन्त्रक रायमाझीले बताए।

संविधानतः माध्यमिक तहसम्मको शिक्षाको व्यवस्थापन र सञ्चालन स्थानीय तहको जिम्मेवारीमा परेकाले कक्षा १० को परीक्षा केन्द्रबाट सञ्चालन गरिरहनु उपयुक्त नहुने विज्ञहरुको भनाइ छ ।

सिकाइ उपलब्धिमा सुधार र शिक्षामा सुधारका लागि पाठ्यक्रम, शिक्षण पद्धति र परीक्षा प्रणालीमा थप परिमार्जनका लागि पनि बहस चल्दै आएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस