मन्दिरमा विवाह गर्दा जन्म दर्ता प्रमाणपत्र अनिवार्य « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

मन्दिरमा विवाह गर्दा जन्म दर्ता प्रमाणपत्र अनिवार्य


९ बैशाख २०७९, शुक्रबार


खलङ्गा । जुम्लास्थित प्रसिद्ध चन्दननाथ मन्दिरमा विवाह गर्दा जन्म दर्ता प्रमाणपत्र अनिवार्य गरिएको छ ।

बालविवाह रोक्नका लागि मन्दिरमा विवाह गर्नेले स्पष्ट परिचय खुल्ने प्रमाणपत्र अनिवार्य ल्याउनुपर्ने व्यवस्था गरिएको हो ।

चन्दननाथ भैरवनाथ गुठी समितिका नायब सुब्बा रत्नप्रसाद आचार्यका अनुसार पछिल्लो समयमा मन्दिरमा विवाह गर्दा कुनै वास्ता नहुने गुनासो बढेपछि मन्दिरमा अनिवार्य जन्म दर्ता प्रमाणपत्र चाहिने अवधारणा अघि बढाइएको हो ।

मन्दिरमा सुटुक्क विवाह गर्ने तथा उमेरको सोधी खोजी गरिँदैन भन्ने सोचका कारण उमेर नपुगेकाले पनि मन्दिरमा विवाह गर्ने गरेको गुनासो आएपछि सो व्यवस्था गरिएको उनको भनाइ छ ।

अहिले उमेर पुगेका मात्र विवाह गर्न मन्दिरमा आउन थालेको समितिले जनाएको छ । विवाह गर्न आएकाहरुको अभिभावकलाई अनिवार्य उपस्थित हुन समितिले आग्रह गरेको छ ।

उमेर नपुगेकालाई सम्झाई बुझाइ गरेर अभिभावकको जिम्मा लगाउने गरिएको आचार्यले बताए ।

यसरी सम्झाउँदा पनि अभिभावकले नमाने स्थानीय प्रहरी चौकीको जिम्मा लगाउने गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस