डडेल्धुराबाट एसइईमा तीन हजार ११८ विद्यार्थी सहभागी हुँदै « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

डडेल्धुराबाट एसइईमा तीन हजार ११८ विद्यार्थी सहभागी हुँदै


८ बैशाख २०७९, बिहिबार


डडेल्धुरा । डडेल्धुरामा एसइई परीक्षा दिने तीन हजार ११८ जना विद्यार्थी रहेका छन् ।

जिल्लाका ७० वटा माध्यमिक विद्यालयबाट तीन हजार ११८ विद्यार्थी परीक्षा दिने तयारीमा रहेका शिक्षा विकास तथा समन्वय एकाइ कार्यालय डडेल्धुराका प्रमुख नारदप्रशाद जोशीले बताए ।

सात वटा स्थानीय तहमा रहेका ७० वटा विद्यालयबाट सहभागी हुने तीन हजार १०० बढी विद्यार्थीका लागि १२ वटा मात्रै परीक्षा केन्द्र तोकिएका छन् । जिल्लाको भौगोलिकता र सबै विद्यालयलाई नजिक पर्ने गरी परीक्षा केन्द्र राखिएको प्रमुख जोशीले बताए ।

परीक्षा नियन्त्रण केन्द्रले दिएको निर्देशनअनुसार एक हजार १२ भन्दा बढी सेन्टर राख्न नसकिने र माथिकै निर्देशनका आधारमा होम सेन्टर राख्न नमिल्ने शिक्षा विकास तथा समन्वय एकाइ कार्यालयले जनाएको छ ।

परशुराम नगरपालिका र आलिताल गाउँपलिकामा चार, भागेश्वर, अजयमेरु, नवदुर्गा र गन्यापधुरा गाउँपालिकामा एक÷एक र सदरमुकाममा रहेका अमरगढी नगरपालिकामा चार वटा परीक्षा केन्द्र गरी १२ वटा केन्द्र तोकिएका छन् ।

सीमित ठाउँमा परीक्षा केन्द्र राख्दा दुर्गम विद्यालयका विद्यार्थी भने परीक्षा दिनका लागि सकस व्यहोर्नुपर्ने बाध्यता छ । विद्यार्थीलाई केन्द्रसम्म पुग्न नै सकस हुने भन्दै दुखेसो पोखिरहेका छन् ।

नजिकमा सेन्टर नहुँदा अजयमेरु, घनघस्या मावि खतेडाका विद्यार्थीले परीक्षा दिनका लागि मात्रै डेरा गर्नुपर्ने बाध्यता रहेको स्थानीय किशोर भण्डारीले बताए ।

घनघस्याका मात्रै नभई स्थानीय तहका धेरै विद्यालयले दुर्गमबाट आई परीक्षा दिनुपर्ने हुन्छ । प्राय विद्यार्थीले डेरा गरी बस्नुपर्दा बस्ने आवासका साथै खानपिनको पनि समस्या हुने हुनसक्ने देखिन्छ ।

परीक्षा केन्द्र तोकिएको ठाउँ अन्य विद्यालयबाट टाढा छन् । सीमित सेन्टरले गर्दा जिल्लाका एसइई दिन सहभागी हुने विद्यार्थी प्राय मर्कामा परेका छन् । पढाइ हुने समय कोरोनाले खायो, परीक्षा दिन जाँदा पनि दुर्गमताको सिकार हुनुपर्ने बाध्यता विद्यार्थीको हरेको छ ।

निर्देशन अनुसारको व्यवस्था गरिसकेको र यही वैशाख ९ गतेदेखि परीक्षा स्थलको पूर्ण तयारी भइसकेको शिक्षा विकास कार्यालय प्रमुख जोशीले बताए।

Tags :
प्रतिक्रिया दिनुहोस