व्यापार घाटा न्यूनीकरणका लागि सहकार्य « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

व्यापार घाटा न्यूनीकरणका लागि सहकार्य


५ बैशाख २०७९, सोमबार


काठमाडौँ । हस्तकलाका वस्तुको निर्यात प्रवर्द्धनका लागि नेपाल चेम्बर अफ कमर्स र नेपाल हस्तकला महासङ्घबिच सहकार्य हुने भएको छ ।

व्यापार घाटा न्यूनीकरण र नेपालको अन्तर्राष्ट्रिय पहिचानका लागि हस्तकलाका सामग्रीले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै चेम्बर र महासङ्घले निर्यात प्रवर्द्धनमा सहकार्य गर्न लागेको बताइएको छ ।

चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले हस्तकलाको निर्यात सहजीकरण, कच्चा पदार्थमा सहकार्य, भन्सारमा देखिएका जटिलता हटाउन महासङ्घसँग हातेमालो गरेर अघि बढ्ने बताए ।

महासङ्घका नवनिर्वाचित कार्यसमितिका पदाधिकारीलाई जमलस्थित चेम्बर भवनमा आज स्वागत गर्दै अध्यक्ष मल्लले नेपालका हस्तकलाका बस्तुहरूको अन्तर्राष्ट्रिय प्रदर्शनी एवं मेलामा सहभागिताका लागि आफूले सक्दो पहल गर्ने बताए ।

हस्तकलाका उद्योगले व्यापक मात्रामा रोजगारी सिर्जना गर्नुका साथै सीप, कला कौशलका माध्यमबाट संस्कृतिको संरक्षण र सवद्र्धनमा ठुलो सहयोग गर्दै आएको मल्लले जानकारी गराए ।

अमेरिका, अधिकांश युरोपेली मुलुक, जापान, चीन, भारत, कोरियालगायत एसियाली मुलुकमा समेत नेपाली हस्तकलाका सामग्रीहरू निर्यात भइरहेको भन्दै अध्यक्ष मल्लले राज्यबाट सहुलियत प्राप्त हुने हो भने आर्थिक रूपमा धेरै लाभ लिन सकिने धारणा राखे ।

कार्यक्रममा महासङ्घका अध्यक्ष प्रचण्ड शाक्यले आफूहरूले उत्पादन गरेका हस्तकलाका वस्तुहरूको निर्यातका लागि भन्सारलगायतका ठाउँमा विभिन्न नीतिगत समस्या रहेको बताउँदै त्यसका लागि सहजीकरण गरिदिन कमर्ससँग आग्रह गरेको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस