बालबालिकाले लगाए टाइफाइड रोगविरुद्धको खोप « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

बालबालिकाले लगाए टाइफाइड रोगविरुद्धको खोप


५ बैशाख २०७९, सोमबार


चितवन । जिल्लामा सञ्चालन गरिएको टाइफाइड रोगविरुद्धको खोप एक लाख ७४ हजार १० जना बालबालिकाले लगाएका छन् ।

सात पालिकामा गरिएको खोप अभियानका क्रममा १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई खोप लगाइएको हो ।

गत चैत २५ गतेदेखि सुरु भएको खोप अभियानमा बालबालिकालाई खोप लगाइएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । अभियान वैशाख ४ गते सकिएको छ ।

कार्यालयका अनुसार भरतपुर महानगरपालिकामा ७९ हजार २१६ र खैरहनी नगरपालिकामा १५ हजार २२८ बालबालिकाले खोप लगाएका छन् ।

यस्तै माडी नगरपालिकामा आठ हजार ८०४, रत्ननगर नगरपालिकामा २० हजार ५६२, राप्ती नगरपालिकामा १५ हजार ८६३, कालिका नगरपालिकामा १२ हजार ५५ र इच्छा कामना गाउँपालिकामा सात हजार २२४ बालबालिकालाई खोप लगाइएको कार्यालयका जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालले जानकारी दिए । सो अभियानमा ५४० खोप केन्द्रबाट खोप दिइएको हो ।

टाइफाइडको समस्या बढी मात्रामा १५ महिनादेखि १५ वर्ष उमेर समूहका बालबालिकालाई हुने भएकाले बालबालिकालाई यो खोप लगाइएको उनले जानकारी दिए ।

दूषित खानेपानी र दिसा पिसाब गरिसकेपछि साबुन पानीले हात नधोई खानेबानी बालबालिकामा बढी हुने भएकाले यो रोगबाट बढी मात्रामा बालबालिका प्रभावित हुने गरेको उनले बताए ।

यो रोग प्रति एक लाख जनसङ्ख्यामा एक हजार ६२ जनामा सङ्क्रमण देखिने गरेको छ । १५ वर्ष मुनिका बालबालिका एक लाखमा एक हजार ९६० जनामा देखिने गरेको पाटन एकेडेमी फर हेल्थ साइन्सले गरेको एक अध्ययनले देखाएको उनले बताए ।

राम्ररी पकाएको खाना मात्रै खाने र खानेकुरा छोपेर राख्ने, बासी सडे गलेका र झिँगा भन्केको खाना नखाने, सफा र सुरक्षित पिउने पानीको मात्र प्रयोग गर्ने गरी यो रोगबाट बाँच्न सकिने उनले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस