पोस्ट कोभिडका बिरामीलाई चिकित्सकको निगरानी र परामर्श आवश्यक छ : डा. अधिकारी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

पोस्ट कोभिडका बिरामीलाई चिकित्सकको निगरानी र परामर्श आवश्यक छ : डा. अधिकारी


४ बैशाख २०७९, आइतबार


काठमाडौँ । कोभिड-१९ को सङ्क्रमण निको भइसकेका धेरैजसो व्यक्तिमा सामान्यदेखि जटिल खालका स्वास्थ्य समस्याहरू देखिने गरेका छन् । चिकित्सकका अनुसार पोस्ट कोभिडका बिरामीहरूलाई चिकित्सकको निगरानी र परामर्श आवश्यक छ ।
कोभिडसंक्रमण निको भइसकेपछि देखिने विभिन्न स्वास्थ्य समस्याको अवस्थालाई पोस्ट कोभिड भन्ने गरिन्छ । सङ्क्रमणका बेला अक्सिजन धेरै चाहिएका, ढिला अस्पताल पुगेका, भेन्टिलेटरको आवश्यकता परेका व्यक्तिहरूमा पोस्ट कोभिडको समस्या देखिएको पाइएको छ । धेरैजसोमा थकाई लाग्ने, कमजोर महसुस हुने, छाती दुख्ने, श्वास फेर्न गाह्रो हुने, जोर्नी दुख्ने, मुटुको धड्कन बढ्ने, राति सुत्न नसक्ने जस्ता समस्या देखिएको छ ।

कोभिड सङ्क्रमणपछि देखिने स्वास्थ्य समस्या, चिकित्सकको निगरानी र परामर्शका सम्बन्धमा वरिष्ठ फिजिसियन डा. भोजराज अधिकारीसँग गरिएको कुराकानी ।

कोभिड-१९ को सङ्क्रमणपछि कस्ता प्रकारका स्वास्थ्य समस्याहरू देखिएका छन् ?
कोभिड-१९ को सङ्क्रमणपछि स्वास्थ्यमा विभिन्न प्रकारका समस्याहरू देखा परेको पाइएको छ । कोभिडको सङ्क्रमण भन्दा पहिले पूर्णरुपमा स्वस्थ रहेका व्यक्तिमा पनि सङ्क्रमण पछि उनीहरूमा केही न केही स्वास्थ्य सम्बन्धी समस्याहरू देखा परेको छ । जुन करिब-करिब दीर्घ रोगीको जस्तै छ ।

पहिले रोग नभएका व्यक्तिहरूमा कोभिडको सङ्क्रमण पछाडि थकाइ लाग्ने, जोर्नीहरू दुख्ने, नसाहरू दुख्ने, मांसपेशी दुख्ने जस्ता समस्याहरू देखा परेका छन् । पहिले फोक्सोको रोग नभएका व्यक्तिमा पनि बढी रुघा लाग्ने, श्वास नली खुम्चिएर छाती बज्ने वा घ्यारघ्यार गर्ने, छाती गह्रौँ हुने, रातीमा अक्सिजन नपुगेको अनुभव हुने जस्ता समस्या देखा परेका छन् । यस्ता समस्याहरू लिएर पनि उपचारका बिरामीहरू आउने गर्नुभएको छ ।

यसै गरी कोभिड पछि एन्सियस भएको, एन्जाइटी भएको, स्ट्रेस लिने गरेको, सानो–सानो कुरामा क्षणिक रूपमा मुडहरू चेन्ज हुने गरेको, डिप्रेसनमा गएको जस्ता स्वास्थ्य सम्बन्धी समस्या देखा परेका छन् । पहिले रोग नभएका व्यक्तिहरू कोभिड सङ्क्रमणमा औषधिको प्रयोगको कारणले पनि नयाँ रोग सिर्जना भएको पाइएको छ । जस्तै मधुमेह, रक्तचाप, रगतमा प्लेटलेटको कमी, शरीरमा डाबरहरू देखिन जस्ता समस्याहरू देखिएका छन् ।

पहिले दम रोग भएकाहरूमा दम बढ्ने, निमोनिया भएकाहरूमा फोक्सो कक्रकिएर फोक्सो क्षमता घटेर अक्सिजन लिइरहनु पर्ने भएको छ । पहिले वर्षमा एक पटक अस्पताल भर्ना हुनु पर्नेहरू अहिले वर्षमा दुई वा तीन पटक अस्पतालमा भर्ना हुनुपर्ने अवस्था आएको छ । पहिलेको औषधि उपचारले अहिले भेटिरहेको छैन ।

मुटु रोगीहरूमा मुटुको पम्प गर्ने क्षमतामा परिवर्तन आएको छ । पहिले रक्तचाप भएकाहरूमा कोभिडको सङ्क्रमण पछि औषधिको मात्रा बढाउनु पर्ने भएको छ । डिप्रेसन पनि बढेको छ ।

यी समस्याहरू सङ्क्रमण भएका सबैमा देखिएको हो कि गम्भीर भएर अस्पताल भर्ना भएमा देखिएको हो ?
अस्पताल भर्ना भएकाहरूमा पहिले भएको रोग बिग्रिएको छ । यसको अर्थ रोगीको स्वास्थ्य अवस्था अझ गम्भीर भएको छ । यसै गरी कोभिड सङ्क्रमण हुँदा निमोनिया भएकाहरूमा या भनौँ दोस्रा लहरमा सङ्क्रमित भएकाहरू जो अस्पताल भर्ना हुनु भएन तर उहाँहरूलाई निमोनिया भयो, उहाँहरूमा पनि स्वास्थ्य अवस्था गम्भीर भएको छ ।

अर्कोतर्फ सङ्क्रमित भएका स्वास्थ्य अवस्था सामान्य रहेका अस्पताल भर्ना नभएकाहरूमा थकाइ लाग्ने, मांसपेशी दुख्ने, शरीर कमजोर हुने, मुड चेन्ज हुने समस्या देखिएको छ ।

पोस्ट कोभिडको लक्षण र स्वास्थ्य समस्याहरू कति समय पछि देखिएको छ ?
नसा दुख्ने, शरीर झमझमाउने जस्ता लक्षणहरू अलि पछि गएर भएको पाइएको छ भने फोक्सोको समस्या सङ्क्रमणको करिब १४ दिनभित्रै देखिएको छ । मधुमेह पनि सुरुकै चरणमा देखिएको छ ।

कोभिड आफैमा स्ट्रेस फुल रोग हो । स्ट्रेसका कारण पनि ब्लडमा सुगर बढ्छ । ब्लड प्रेसर बढ्छ । यस प्रकारका असरहरू सुरुका महिनामा देखिएको पाइएको छ । र पछिपछि एक तिहाइमा यी समस्याहरू हराउँदै गएको पाइएको छ ।

पोस्ट कोभिडका बिरामीहरूलाई चिकित्सकको परामर्श र फ्लोअप कतिको आवश्यक छ ?
चिकित्सकको परामर्श र फ्लोअप आवश्यक छ । पहिलो लहरमा डरको लेबल बढी थियो, स्वीकार कम थियो । दोस्रा लहरमा डरको लेबल घट्यो स्वीकार बढ्यो । तेस्रो लहरमा आइपुग्दा डर पनि घट्यो मानिसले स्वीकार पनि गर्न थाले । र अहिले स्वास्थ्य मापदण्ड पालनामा पनि हेलचेक्र्याइँ गरेको पाइन्छ ।

चिकित्सकको सल्लाह के रहन्छ भने यस प्रकारका रोगहरू स्थायी रूपमा रहिरहन सक्छन् । पहिलो, दोस्रो, तेस्रो लहर मात्रै नभएर कोभिडको कुनै कुनै भेरिअन्ट सधैँ रहिरहन सक्छ । यस कारण कोभिडको सङ्क्रमण भएका व्यक्तिहरू जो पहिला रोगी हुनुहुन्थ्यो, उहाँहरूलाई परामर्श आवश्यक छ । यसै गरी कोभिडले फोक्सोमा असर गर्ने भएकाले पनि चिकित्सकको परामर्श आवश्यक छ । किन कि कोभिडले फोक्सोलाई कति असर गरेको छ भन्ने थाहा पाउनका लागि परीक्षण आवश्यक छ । यस कारण पनि चिकित्सकको परामर्श र फलो अप आवश्यक मानिन्छ ।

कोभिड रोग विश्वकै लागि नयाँ रोग हो । यसको सङ्क्रमण पछि हुने दीर्घकालीन समस्याहरू थाहा हुनै बाँकी छ । अहिले फोक्सोमा देखिएको समस्या निको हुन्छ वा भविष्यमा गम्भीर हुन्छ भन्ने हेर्नै बाँकी छ । यस कारण पनि सङ्क्रमण भएको व्यक्ति चिकित्सकको परामर्शमा हुन जरुरी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस