भानुभक्त प्राणी उद्यान: जग्गा अधिग्रहणका लागि ४६ करोड « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

भानुभक्त प्राणी उद्यान: जग्गा अधिग्रहणका लागि ४६ करोड


३ बैशाख २०७९, शनिबार


दमौली । तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेस्थित भानुभक्त प्राणी उद्यानले जग्गा अधिग्रहणको कामलाई अगाडि बढाएको छ ।

रैथाने र गैर रैथाने वन्यजन्तुको संरक्षण गर्ने, वन्यजन्तु संरक्षणमार्फत आमोद प्रमोद प्रदान गर्ने, वन्यजन्तुको वैज्ञानिक अध्ययन अनुसन्धान गर्ने उद्देश्यसहित स्थापना भएको सो उद्यानले जग्गा अधिग्रहणको कामलाई अगाडि बढाएको हो ।

प्राणी उद्यानले व्यास नगरपालिका–११, १२, भानु नगरपालिका–५ र ६ का भाग समेटेको छ । उद्यानले अधिग्रहण गर्ने जग्गा, घर टहरा, खेतबारीको मुआब्जा निर्धारण गर्ने काम सकिएको संरक्षण अधिकृत भोजराज पन्थले जानकारी दिए । उनका अनुसार यस कार्यका लागि कूल रु ४६ करोड ५२ लाख एक हजार ७३० बजेट आवश्यक पर्छ । जग्गाको मुआब्जा वितरणका लागि अर्थ मन्त्रालयमा फाइल पठाइएको र बजेट स्वीकृत भएर आएपछि मुआब्जा वितरणको काम सुरु हुने उनले बताए ।

‘प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको मुआब्जा निर्धारण समितिले जग्गाको मूल्याङ्कन गरेर बजेटका लागि फाइल अर्थ मन्त्रालयमा पठाएको छ, मन्त्रालयबाट बजेट प्राप्त भएपछि मुआब्जाको काम अगाडी बढाउँछौँ’, पन्थले भने ।

प्राणी उद्यानभित्र परेका १२६ जग्गाधनीको ९६१ रोपनी जग्गा अधिग्रहण गरिनेछ । त्यसका लागि ४३ करोड ८७ लाख नौ हजार ४४३ मुआब्जा निर्धारण गरिएको छ । त्यस्तै उद्यानभित्र परेका घर टहराका लागि ५८ लाख सात हजार ५७९ र छुट भएका १६ जग्गाधनीको जग्गा अधिग्रहणका लागि दुई करोड छ लाख ८४ हजार ७०७ मुआब्जा निर्धारण गरिएको छ ।

प्राणी उद्यानको सीमानमा तारबार लगाउने काम भने सम्पन्न भइसकेको छ । उद्यानको विकासका लागि गुरुयोजना बनाइएको छ । गुरुयोजनाअनुसार यहाँ दुई इलाका, चार क्षेत्र र आठ शाखा कल्पना गरिएको छ ।

इलाकाअन्तर्गत संरक्षण इलाका र उपयोग इलाका रहनेछ । क्षेत्रअन्तर्गत प्रशासनिक, प्रदर्शनी, शान्ति र आध्यात्मिक तथा उद्धार र अनुसन्धान रहनेछ । शाखाअन्तर्गत ठुला शाकाहारी, शाकाहारी, पन्छी, सर्वाहारी, सरीसृप, साना स्तनधारी, मांसाहारी र भालु शाखाको कल्पना गरिएको छ ।

प्राणी उद्यान कूल ४२५ हेक्टर क्षेत्रफलमा फैलिएको छ । उद्यानले १३ वन क्षेत्रलाई समावेश गरेको छ । प्राणी उद्यान क्षेत्रभित्र पर्ने आठ सामुदायिक वन र पाँच कबुलियत वन गरी १३ वन क्षेत्र समावेश गरिएको छ । उद्यानले २९७।४७ हेक्टर संरक्षण इलाका र १२७।५३ उपयोग इलाका निर्धारण गरेको छ । संरक्षण इलाकाभित्र घना वन क्षेत्र, भिरालो र पहुँच नभएको क्षेत्र पर्दछ भने उपयोग इलाकाभित्र कम भिरालो, पानीका स्रोत पर्दछ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ मा प्राणी उद्यान घोषणा गर्ने प्रावधान भएकाले चुनौती देखा परेको संरक्षण अधिकृत पन्थले बताउनुभयो । प्राणी उद्यानले गुरुयोजनाबमोजिम कार्य सञ्चालन, विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माण, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनमा प्राणी उद्यान स्थापना र व्यवस्थापनसम्बन्धी व्यवस्था गर्न पहल गर्ने विषयलाई प्राथमिकतामा राखेको छ ।

व्यास गुफादेखि बन्दीपुरसम्म स्रष्टाको पदयात्रा
स्रष्टा पदयात्रा काठमाडौँको आयोजनामा तनहुँको प्रसिद्ध व्यास गुफादेखि पर्यटकीय नगरी बन्दीपुरसम्म पदयात्रा सुरु भएको छ ।

विभिन्न जिल्लाका साहित्यकारको सहभागितामा धार्मिक स्थल व्यास गुफादेखि पर्यटकीय स्थल बन्दीपुरसम्म पदयात्रा सुरु भएको हो । व्यास गुफामा आज आयोजित एक कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले पदयात्रामा सहभागी साहित्यकारलाई बिदाइ गर्दै साहित्यका माध्यमबाट व्यास क्षेत्रको प्रचारप्रसार गरिदिन आग्रह गरे ।

व्यास, पराशर, छाब्दीवाराही, तनहुँसुर, गलेखामकोटको संरक्षण र उजार गर्ने अभियानमा नगरपालिका क्रियाशील भएर लागेको बताउँदै उनले भने, ‘सांस्कृतिक र साहित्यिक पक्षको संरक्षण गर्न प्राज्ञ सभा गठनको प्रक्रिया अगाडि बढाएका छौ ।’ व्यासका अध्येता काशीनाथ न्यौपानेले श्रीकृष्ण द्वैपायनको रूपमा २८ औँ व्यासको जन्म दमौलीमा भएको प्रमाण रहेको भन्दै यस क्षेत्रको उचित प्रचारप्रसार हुन नसकेको बताए । व्यास भूमि दमौलीको प्रचारप्रसारका लागि लागे पनि यसको विकास हुन नसकेकाले सबैको सामूहिक प्रयास आवश्यक रहेकामा उनले जोड दिए ।

व्यास गुफा र बन्दीपुरको पर्यटन, संस्कृति, पुरातत्त्व महत्त्वको प्रचारप्रसार गर्ने उद्देश्य सहित पदयात्रा सुरु भएको हो । विसं २०७३ सालमा सुरु भएको स्रष्टा पदयात्राको तनहुँको शृङ्खला ५७ औँ हो । स्रष्टा पदयात्राले काठमाडौँबाट यो अभियान सुरु गरेको मन्दिरा मधुश्रीले जानकारी दिए । ‘नयाँ नयाँ ठाउँ पुगेर रचना सिर्जना गर्ने र त्यसलाई पुस्तकमार्फत प्रचारप्रसार गर्ने उद्देश्यसहित स्रष्टा पदयात्रा सुरु गरेका हौ’, उनले भने ।

स्रष्टा पदयात्रामा ११ साहित्यकारको सहभागिता रहेको छ । स्रष्टा पदयात्रामा साहित्यकार शीतल गिरी, पत्रकार तथा लघुकथाकार डिल्लीराम सुवेदी, कवि वसन्त रिजाल, कवि तथा गजलकार खोला घरे साहिलो, साहित्यकार नवराज रिजाल लगायतको सहभागिता रहेको छ ।

पदयात्रामा सहभागी हुने साहित्यकारको टोली आज बन्दीपुर पुग्नेछ । उक्त टोलीले आइतबार बन्दीपुरको अवलोकन गर्नेछ भने बन्दीपुरमा साहित्य गोष्ठी आयोजना गरिएको स्थानीय संयोजक डा। तुलसी प्रभास खनालले जानकारी दिए ।

नयाँ नयाँ ठाउँमा पुगेर त्यस ठाउँको अध्ययन अवलोकन गरी साहित्यका माध्यमबाट उजागर गर्नु स्रष्टा पदयात्राको मुख्य उद्देश्य रहेको संस्थाका संयोजक शीतल गिरीले जानकारी दिए । ‘कुनै पनि कुरा आफैले हेरी जाँच पहिचान गरेर लेखेको तथ्यपरक हुने हुँदा हामी महिनामा एक पटक पदयात्रा गर्दै आएका छौ, पदयात्रा गर्दा हामी प्रत्येक यात्रामा साहित्यिक कार्यक्रम पनि गर्छौ’, उनले भने, ‘यात्रा गरिएको स्थानको कला, संस्कृति अध्ययन गरी सिर्जनामा स्थान दिँदै आएका छौ ।’

Tags :
प्रतिक्रिया दिनुहोस