सिमकोट विमानस्थलमै थन्कियो चामल « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

सिमकोट विमानस्थलमै थन्कियो चामल


३० चैत्र २०७८, बुधबार


सिमकोट । हुम्लाको मध्य भेगमा रहेको सर्केगाड गाउँपालिकाबाट ढुवानी हुँदै आएको चामल सिमकोट विमानस्थलमा थन्किएको छ ।

विमानस्थलबाट खाद्यान्नको गोदामसम्म ढुवानी गर्ने व्यवस्था हुन नसकेपछि ठुलो परिमाणमा खाद्यान्न विमानस्थलमै थन्किएको हो ।

खाद्य व्यवस्था तथा व्यापार लिमिटेड शाखा हुम्लाका अनुसार विमानस्थलबाट लिमिटेडको गोदामसम्म ट्र्याक्टरमा ढुवानी गर्ने बाटो बन्द भएको छ ।

यसअघि टिप्परमार्फत चङ्खेली गाउँपालिकाको सरिसल्ला हुँदै सर्केगाड गाउँपालिकाको सर्केगाड बजारसम्म पुर्‍याइएको खाद्यान्न हेलिकप्टरमार्फत सिमकोटसम्म ढुवानी गरिँदै आएको थियो ।

यसअघि विमानस्थलबाट ट्र्याक्टरले गोदामसम्म खाद्यान्न ढुवानी गर्ने गरेको थियो । अहिले खाद्यान्न ढुवानी गर्ने सिमकोटस्थित तल्लो बजारको महिला छात्रावास क्षेत्रमा सडक मर्मत भइरहेको हुँदा ढुवानी हुन नसकेको लिमिटेड शाखा हुम्लाले जनाएको छ ।

सडक नबनेसम्म खाद्यान्न विमानस्थलमै थन्किने छ । हाल सिमकोट विमानस्थलमा ५२९ क्विन्टल खाद्यान्न रोकिएको छ । सडक बन्न अझै एक साता बढी लाग्ने बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस