हेलिकप्टर प्रयोग गरी पर्यटकको उद्धार « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

हेलिकप्टर प्रयोग गरी पर्यटकको उद्धार


२८ चैत्र २०७८, सोमबार


रसुवा । हिमाली पदयात्राका क्रममा बिरामी परेका एक पर्यटकलाई हेलिकप्टर प्रयोग गरी उद्धार गरिएको छ ।

राहदानी नं ३३१६२३२२ इजरायली नागरिक ओरेन जैव इडेनलाई डानेष्टिक एअरको हेलिकप्टरद्वारा रसुवाको चन्दनबारीबाट उद्धार गरी काठमाडौँ पुर्‍याइएको हो ।

हिमाली पदयात्राका क्रममा आइतबार गोसाइँकुण्डमा बिरामी परेका पर्यटकलाई आज बिहान मात्र उद्धार गरिएको चन्दनबारीस्थित होटेल रेड पान्डाका ङवाङ फिन्जो तामाङले जानकारी दिए । चन्दनबारीमा उक्त होटेलको मात्र हेलिप्याड छ ।

आइतबार उच्च भागमा दिनभर प्रतिकूल मौसमका कारण हेलिकप्टरले गोसाइँकुण्डको अवतरण गर्न नसकेपछि ती पर्यटकलाई स्थानीय होटेल व्यवसायी समेतको सहयोगमा साँझ चन्दनबारी ल्याई आज काठमाडौँ पठाइएको बताइएको छ । उद्धार गरिएका पर्यटकको अहिले काठमाडौँको कालोपुलस्थित स्वागन अस्पताल उपचार भइरहेको डानेष्टिक एअरका उडान प्रबन्धक दावा शेर्पाले बताए ।

दुई जना साथी मिलेर पदयात्रामा हिँडेका ती इजरायली पर्यटकमा शनिवार १४ हजार ३८० मिटरको उच्च भागमा गोसाईंकुण्ड पुगेपछि टाउको दुख्ने समस्या भएको थियो । उपचारपश्चात् ती पर्यटकको शारीरिक अवस्था सामान्य बन्दै गएको बताइएको छ ।

हिमाली पदयात्राका क्रममा कुनै पर्यटक बिरामी पर्दा वा यात्राको सहजीकरण गर्नु परेमा स्याफ्रुबेँसीस्थित पर्यटन प्रहरी एवं जिल्ला प्रहरी कार्यालयलाई खबर गरी दिन आग्रह गरिएको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस