तनहुँका पाँच वटा पुल यसै आर्थिक वर्षमा सम्पन्न हुने « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

तनहुँका पाँच वटा पुल यसै आर्थिक वर्षमा सम्पन्न हुने


२७ चैत्र २०७८, आइतबार


seti-nadi- moterable pul

तनहुँ । तनहुँमा निर्माणाधीन तेह्र वटामध्ये पाँच वटा पुल यसै आर्थिक वर्षमा सम्पन्न गर्ने लक्ष्य रहेको छ ।

बाँकी रहेका आठ पुलको बोलपत्र पश्चात् निर्माण कार्य अघि बढाइएको पूर्वाधार विकास कार्यालय इकाई कार्यालय तनहुँले जनाएको छ ।

शालिकराम करिडर अन्तर्गत ऋषिङ गाउँपालिका–४ र ५ जोड्ने ज्वालाखोला पुल, ऋषिङगाउँपालिका–५ लुक्दी खोला पुल, घिरिङ गाउँपालिका–४ को तिरमदी खोला पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

त्यसैगरी घिरिङ गाउँपालिका–१ पुट्टार द्रौपद पुल, भीमाद नगरपालिका र ऋषिङ गाउँपालिका जोड्ने फेदी खोलामा निर्माणाधीन अवस्थामा रहेको पुल यसै आर्थिक वर्षमा सम्पन्न गर्ने योजना रहेको छ ।

बोलपत्र भएका आठ वटा पुलको तीन वर्षको ठेक्का म्याद रहेकाले यसै वर्ष सम्झौता गरी निर्माणको चरणमा रहेको कार्यालयका सिनियर डिभिजन इन्जिनियर घिमिरेले जानकारी दिए ।

पूर्वाधार विकास कार्यालय इकाई कार्यालय तनहुँमार्फत निर्माणाधीन अवस्थामा रहेका पाँच वटा सडकको म्याद थप गरी निर्माण कार्य अघि बढाइएको उनले बताए ।

कोरोनाका कारण पटक–पटक निर्माण कार्य अवरुद्ध हुँदा समयअवधिभित्र सम्पन्न गर्न नसकेका सडकको म्याद थप गरिएको हो ।

आगामी आर्थिक वर्षभित्र सम्पन्न गर्ने गरी विभिन्न चरणमा म्याद थप गरिएको कार्यालयका ‘साइट इन्चार्ज’ होमनाथ गौतमले जानकारी दिए ।

उनका अनुसार जिल्लाको दुलेगौँडा–हर्कपुर सडक आगामी असारसम्म, भानुमार्ग आगामी फागुनसम्म, मानपुर– डेढगाउँ मोटर मार्ग फागुनसम्म र आँबुखैरेनी–छिम्केश्वरी आगामी असोजसम्म म्याद थप गर्न लागि मन्त्रालयमा पठाइएको छ ।

त्यसैगरी दासढुङ्गा– देउपुर सडक आगामी असारसम्म म्याद थपको लागि प्रक्रियामा राखिएको सो कार्यालयले जनाएको छ ।

जिल्लाको देवघाटबाट घिरिङ गाउँपालिका हुँदै केलादीघाट कालीगण्डकी नदीको तिरैतिर स्याङ्जा, पाल्पा जोड्ने गरी शालिकराम करिडरको तीव्र गतिमा काम भइरहेको छ ।

करिब ६८ किलोमिटर सडकमध्ये दासढुङ्गा– देउपुरसम्म छ किमी कालोपत्र भएको छ भने २५ किमी ग्राभेल गरिएको र बाँकी ३७ किमी ग्राभेल गर्न बाँकी रहेको कार्यालयका सिनियर डिभिजन इन्जिनियर घिमिरेले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस