कोडिङ ल्याङग्वेजले तार्किक सोचाईको विकास गर्दछ जसले बालबालिकाको सिर्जनशीलतालाई बढाउँछ -सिइओ पन्त « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कोडिङ ल्याङग्वेजले तार्किक सोचाईको विकास गर्दछ जसले बालबालिकाको सिर्जनशीलतालाई बढाउँछ -सिइओ पन्त


२५ चैत्र २०७८, शुक्रबार


काठमाडौँ । यो सूचना प्रविधिको युग हो । २१ औँ शताब्दीमा कोही पनि सूचना प्रविधिको प्रयोगबाट टाढा रहन सक्दैन । कोभिड-१९ को महामारीले यसको प्रयोगमा मानिसलाई अझ अभ्यस्त बनाएको छ । र, यसको आवश्यकता पनि महसुस गराएको छ । अहिले सबै जानकारीहरू डिजिटल स्वरूपमा परिवर्तन भइरहेका छन् । परिणामस्वरूप विश्व डिजिटल युगतर्फ अग्रसर छ । प्रविधिलाई प्राथमिकता दिने देशहरू शक्तिशाली बनेका छन्, नदिनेहरू पछि परेका छन् । हरेक क्षेत्रमा प्रविधिको प्रयोग अनिवार्य भइसकेको छ । र, डिजिटलाइजेसन भइरहेको छ ।

डिजिटलाइजेसनका लागि कम्प्युटर प्रोग्रामिङ जस्तो: विशेष सीपको आवश्यकता खट्किएको छ । प्रोग्रामिङ भनेको अङ्कहरूको भाषा(ल्याङ्ग्वेज) हो, जसलाई कोड भनिन्छ । कोडिङ अब कम्प्युटर वैज्ञानिकहरूको मात्र विषय रहेन । सबै किसिमका पेसा तथा व्यवसायमा यसको आवश्यकता खड्किएको छ । त्यसैले अन्य विषय जस्तै यसलाई पनि कलिलै उमेरदेखि बालबालिकाहरूलाई सिकाइरहेको भेटिन्छ । कोडिङ ल्याङग्वेजले त्यस्ता सफ्टवेयरहरू विकास गर्दछ, जसले विभिन्न समस्या र चुनौतीहरूको समाधान गर्दै देश विकास गर्न एउटा महत्त्वपूर्ण सीप बन्न सक्छ । कोडिङको महत्त्व के छ ? यो बालबालिकालाई किन पढाउनु पर्छ ? र, यसबाट के उपलब्धि हुन्छ ? भन्ने विषयमा केन्द्रित रहेर मेरो कोडिङ क्लासका सिइओ वसन्त पन्तसँग प्रशासन डटकमले गरेको कुराकानी ।

कोडिङ भनेको के हो ?
कोडिङ भनेको कम्प्युटरको भाषा हो । यसलाई कम्प्युटर साइन्स प्रोग्रामिङ पनि भन्न सकिन्छ । कम्प्युटरको पनि आफ्नै भाषा छ । कम्प्युटरलाई काम गराउँदा प्रयोग गरिने भाषा नै कोडिङ हो । कम्प्युटरलाई निर्देशन दिन बनाइएको भाषा हो भन्न सक्छौँ ।

कोडिङको आवश्यकता किन छ ?
विश्व सूचना प्रविधिमा अघि बढेको छ । हामी पनि विभिन्न टेक्नोलोजी प्रयोग गरिरहेका छौँ । अहिले जमाना भनेकै टेक्नोलोजीको जमाना हो । र, भविष्यमा यसको आवश्यकता पनि झन् बढ्ने पक्का छ । यस कारण अहिले देखिनै हामीले हाम्रा बालबालिकालाई कोडिङबारे जानकारी गरायौँ र उनीहरूलाई सिकायौँ भने उनीहरू भोलिको लागि तयार हुन्छन् । यस कारण कोडिङ सिक्न आवश्यक छ ।

कम्प्युटर साइन्स पढ्ने विद्यार्थीका लागि यो महत्त्वपूर्ण छ नै यदि कम्प्युटर साइन्स नपढेर अन्य फिल्डमा गए पनि यो आवश्यक छ । भोलि सबै कोडर होला भन्ने छैन तर जुन कुनै क्षेत्र वा व्यवसायमा आबद्ध हुने व्यक्तिले पनि कम्प्युटर बारे जान जरुरी छ ।
हाम्रो दैनिकी नै बनेको कम्प्युटरको कोडिङको ज्ञान भयो भने राम्रो हुन्छ । कोडिङ २१ सताप्दीको भाषा बनिरहेको छ । केही अध्ययनले कोडिङले भावी दिनमा रोजगारीका लागि आवश्यक सहकार्य र सञ्चारका आवश्यक सीपहरूको विकास गर्न मद्दत गरेको देखाएका छन् ।

नेपालमा कोडिङको बढाई के कस्तो छ ?
नेपालमा यसको पढाइ खासै भएको छैन । हामीले यसको सुरुवात गरेका छौँ । विद्यालयमा कम्प्युटरबारे पढाइ भएको छ, तर कोडिङबारे छैन । विद्यालयमा पाठ्यक्रममा नै राखेर यसको पढाइ हुनुपर्छ । बालबालिकालाई कोडिङ सिकाउनु पर्छ भन्नेमा हाम्रो जोड छ ।

केही विद्यालयमा गएर हामीले यसबारे जानकारी दिने गरेका छौँ । तर पाठ्यक्रममा नराख्दासम्म विद्यालयमा कोडिङ क्लास त्यति सहज छैन । विद्यालय व्यवस्थापनसँग छलफलमै छौँ । उहाँहरू सकारात्मक नै हुनुहुन्छ ।

नेपालमा सबै विद्यालयमा कोडिङको पाठ्यक्रम विकास गर्न सजिलो छैन । किनकि, विद्युत्, कम्प्युटर, इन्टरनेट र यो प्रविधि जानेका शिक्षकको अझै अभाव छ । तर, भारतको कुरा गर्ने हो भने ६ कक्षादेखि कोडिङलाई अनिवार्य विषयका रूपमा नै राखिएको छ ।

कुन उमेर समूहका लागि कुन कोर्स पढाइ हुन्छ ?
कोभिड महामारीका कारण हामीले मेरो कोडिङ क्लासमार्फत अहिले अनलाइनबाट क्लासहरू सञ्चालन गरिरहेका छौँ । ८ वर्षदेखि १८ वर्षसम्मका बालबालिकालाई हामीले पढाइरहेका छौँ ।

८ वर्षदेखि १२ वर्षसम्मको लागि स्क्र्याच पढाउँछौँ । यो एमआटीले विकास गरेको हो । यो ब्लग बेस्ड हुन्छ । यसमा टाइप गर्नु पर्दैन । यो कोर्सपछि हामी पाइथन पनि पढाउँछौँ । यी दुई वटाबाट सुरुवात गरेका हौँ ।

जाभा, एचटीएमएल, एन्ड्रोइड डेभ्लपमेन्ट लगायत पनि हामी सिकाउँछौँ । धेरैको चासो पनि छ । सकारात्मक भएर अघि बढ्न प्रेरणा मिलेको छ । इच्छुक बालबालिकाले हामीले सञ्चालन गरेको मेरो कोडिङ क्लासबाट पनि कोडिङबारे जानकारी लिन सक्नुहुन्छ ।

कोडिङ बालबालिकाका लागि नै किन ?
बालबालिका भविष्यका कर्णधार हुन्, आज उनीहरूले कस्तो ज्ञान पाएका छन्, भोलि देशको भविष्य त्यस्तै हुन्छ । यही कुराले बालबालिका प्राथमिकतामा परेका हुन् ।

अर्कोतर्फ कोडिङ आफैँमा एउटा नयाँ र फरक भाषा हो । वयस्कले भन्दा बालबालिकाले छिटो नयाँ भाषा सिक्न सक्छन् । यस कारण बालकालिबाट नै कोडिङ सिकाउनु उपयुक्त हुन्छ । स्क्र्याच जस्ता भिजुअल प्रोग्रामिङ ल्याङ्ग्वेज बालबालिकाका लागि बनाइएका हुन् । जसमा उनीहरूले तस्बिर, सङ्केत र चित्रहरू हेरेर कोड सिक्न सक्छन् । कोडिङ ल्याङग्वेजले तार्किक सोचाईको विकास गर्दछ जसले बालबालिकाको सिर्जनशीलतालाई बढाउँछ ।

Tags :
प्रतिक्रिया दिनुहोस