बागलुङमा सहकारीसहित सात घरमा चोरी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

बागलुङमा सहकारीसहित सात घरमा चोरी


२५ चैत्र २०७८, शुक्रबार


बलेवा । बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेरा बजारमा गत राति एक सहकारीसहित सात घरमा चोरी भएको छ ।

सिवाइसी बचत तथा ऋण सहकारी संस्थाको कुश्मीशेरा शाखासहित स्थानीय छ जनाको घरमा चोरी भएको हो ।

कुश्मीशेरा बजारका व्यवसायी गोविन्द अँखेलीको घरबाट दुई तोला सुन र नगद रु २० हजार चोरी भएको चेम्बर अफ कमर्स कुश्मीशेराका अध्यक्ष विष्णु आचार्यले बताए ।

त्यस्तै शान्ति माध्यमिक विद्यालयका प्रधानाध्यापक यामबहादुर जिसीको घरबाट रु पाँच हजार चोरी भएको छ । कुश्मीशेरा बजारमा व्यापार गर्ने अनिल सापकोटाको पसलबाट रु २७ हजार चोरी भएको आचार्यले बताए ।

चुडामणि शर्माको मेडिकल, नयनसिंह थापाको घर र मनबहादुर परियारको पसलबाट पनि चोरी भएको छ । उनीहरुको के–कति चोरी भएको भन्ने विषयमा खोजी भइरहेको छ । सिवाइसी बचत तथा ऋण सहकारी संस्थाको शाखा रहेको घरमा समेत तोडफोड भएको आचार्यले बताए।

चोरी भए, नभएको विषयमा खोजी भइरहेको छ । चोरी भएका सबै घर तथा पसलमा झ्याल, ढोका फोडेर चोरी भएको प्रहरीले जनाएको छ । बिहीबार राति साढे २ बजेसम्म बजारमा गस्ती गरेको प्रहरीले चोरीका विषयमा आज बिहान मात्रै जानकारी पाएको जनाएको छ ।

घटनाका विषयमा खोजी र अनुसन्धान भइरहेको प्रहरी चौकी कुश्मीशेराका हवल्दार हरि शर्माले जानकारी दिए । तीन महिना पहिला कुश्मीशेरा बजारकै हेमलाल पौडेलको पसल फोडेर चोरी भएको थियो ।

प्रहरीले त्यतिबेला चोरी गर्नेलाई समेत पक्राउ गर्न सकेको छैन । तीन महिनापछि कुश्मीशेरा बजारमा पुनः चोरीका घटना बढेको स्थानीयवासी बताउँछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस