पोखरा म्याराथनमा अजित र सरस्वतीले जिते १० किमी दौडको उपाधि « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

पोखरा म्याराथनमा अजित र सरस्वतीले जिते १० किमी दौडको उपाधि


१२ चैत्र २०७८, शनिबार


कास्की । पोखरामा आयोजना गरिएको १६औँ संस्करणको ‘सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’ अन्तर्गत शनिवार सम्पन्न १० किमी दौडमा पुरुषतर्फ अजित कुमार यादव र महिलातर्फ सरस्वती बोहोराले उपाधि जित्न सफल भएका छन् ।

नेपाली अग्रज खेलाडीहरूको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चद्वारा पोखरा म्याराथनअन्तर्गत आयोजित सो दौडमा काठमाडौँका अजितले ३० मिनेट ४५ सेकेन्डमा निर्धारित दूरी पार गरी उपाधिसहित नगद २० हजारका साथमा मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गरे ।

विजेता यादव सन् २०१९ मा हङकङमा सम्पन्न तीन हजार मिटर दौडतर्फ एसियन यूथ एथलेटिक्सको स्वर्ण पदक जित्ने पहिलो नेपाली खेलाडीसमेत हुन् । महिलातर्फको १० किमी दौडमा काठमाडौँका सरस्वतीले ३९ मिनेट ३५ सेकेन्डमा पूरा गरी उपाधिसहित २० हजार नगद पुरस्कार जिते ।

पुरुषतर्फ स्याङ्जाका युवराज थापाले ३२ मिनेट ५० सेकेन्डमा दौड पूरा गर्दै द्वितीय र काठमाडौँका टङ्ककबहादुर कार्कीले ३३ मिनेट पाँच सेकेन्डमा दौड पूरा गरी क्रमशः १५ हजार र १० हजार पुरस्कार पाए । महिलातर्फ सशस्त्र प्रहरी बल एपिएफ क्लबका आशा रावतले ४० मिनेट १० सेकेन्डमा दौड पूरा गर्दै द्वितीय र पोखराका गोमा पुनले ४३ मिनेट ५९ सेकेन्डमा निर्धारित दूरी पूरा गरी तृतीय भइन् । उनीहरूले क्रमशः १५ हजार र १० हजार पुरस्कार पाए ।

प्रतियोगिताअन्तर्गत नै भएको छात्र पाँच किमी दौडमा थापा ठाना मावि पर्वतका आनन्द थापाले १७ मिनेट पाँच सेकेन्डमा दौड पूरा गर्दै प्रथम, काली गण्डकी मावि पर्वतका कृष्णबहादुर परियारले १७ मिनेटमा द्वितीय र मण्डली मावि गोरखाका सुरज बरामले १७ मिनेट ४१ सेकेन्डमा दौड पूरा गरी तृतीय भए ।

छात्रातर्फ तनहुँको भानु माविका नर्मता गुरुङ प्रथम, पोखराको छोरेपाटन माविका नारायणी भण्डारीले द्वितीय र तनहुँको भानु माविका सन्ध्या अधिकारी तृतीय हुन सफल भए । छात्र र छात्रातर्फ प्रथम, द्वितीय र तृतीय हुन सफल खेलाडीले जनही नगद १० हजार, सात हजार र पाँच हजारसहित मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गरे ।

प्रतियोगिताको ह्विलचियर पुरुष इभेन्टतर्फ सुरेश गौली प्रथम, जीवन श्रेष्ठ द्वितीय र भरत अधिकारी तृतीय भए । महिलातर्फ अन्जु बराल प्रथम, घना मगर द्वितीय र लक्ष्मी सुनार तृतीय हुँदै क्रमशः रु १० हजार, सात हजार र पाँच हजारका साथमा मेडल र प्रमाणपत्र प्राप्त गरे । प्रतियोगितामा पुरुषतर्फ १० किमी दौडमा २००, महिला १० किमीमा १००, पाँच किमी छात्रतर्फ ३००, पाँच किमी छात्रातर्फ २०० गरी ८०० जनाले सहभागिता जनाएका थिए ।

विजेता खेलाडीहरूलाई वरिष्ठ मुटु रोग विशेषज्ञ तथा काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थका निर्देशक प्रा डा भगवान् कोइराला, प्रदेश खेलकुद परिषद्का सदस्यसचिव तेजबहादुर गुरुङ लगायतले पुरस्कार वितरण गरेका थिए ।

यसअघि पोखरा रङ्गशालाबाट सुरु भएको दौडको शुभारम्भ पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले गरेका थिए । मञ्चले यसअघि गत फागुन ७ गते म्याराथन सम्पन्न गरिसकेको छ । कोरोना सङ्क्रमण जोखिमलाई ध्यानमा राखेर पोखरा अन्तर्राष्ट्रिय म्याराथनअन्तर्गत फरक फरक मितिमा इभेन्टहरू आयोजना गरिएको मञ्चले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस