यस्तो छ चिनियाँ विदेशमन्त्रीको भ्रमण तालिका « प्रशासन
Logo ३१ बैशाख २०८१, सोमबार
   

यस्तो छ चिनियाँ विदेशमन्त्रीको भ्रमण तालिका


११ चैत्र २०७८, शुक्रबार


काठमाडौँ । चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यी पूर्वतालिकाभन्दा २ घण्टा अगावै काठमाडौँ आउने भएका छन् ।

आज (शुक्रबार) साँझ ५ बजेका लागि तय भएको विदेशमन्त्री यीसहितको उच्चस्तरीय भ्रमण टोली दिउँसो ३ बजे नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्ने तालिका तय भएको हो ।

उनको सुरक्षामा नेपाल प्रहरीको विशेष टोली तैनाथ गरिएको छ । हिजो (बिहीबार) गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समिति बैठकले चिनियाँ विदेशमन्त्री यीको सुरक्षामा विशेष टोली तैनाथ गर्न निर्देशन दिएको थियो ।

विमानस्थलबाट उनी सोझै बत्तीसपुतलीस्थित होटेल द्वारिका आउनेछन् । शुक्रबार यसबाहेक कुनै पनि औपचारिक कार्यक्रम तय नभएको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

भ्रमणको दोस्रो दिन भोलि (शनिबार) बिहान ६:३० बजे विदेशमन्त्री यी शिवपुरी हाइकिङ जाने कार्यक्रम रहेको छ । भ्रमण र भेटघाटका क्रममा पर्ने रुटमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको विशेष टोली खटिएको छ ।

त्यसपछि परराष्ट्रमन्त्री नारायण खड्कासँग सिंहदरबारमा भेटघाटको कार्यक्रम रहेको छ । त्यही क्रममा नेपाल र चीनबीच विभिन्न विषयमा द्विपक्षीय सहमति पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

त्यसपछि उनी सिंहदरबारबाट प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटका लागि प्रधानमन्त्री निवास बालुवाटार जानेछन् ।

विदेशमन्त्री यीले भ्रमणकै दौरानमा काठमाडौँबाटै पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । पोखरा विमानस्थल चिनियाँ सरकारको ऋण तथा अनुदान सहयोगमा निर्माण सम्पन्न भएको हो ।

भ्रमणको तेस्रो दिन आइतबार बिहान ९:३० बजे राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास जाने कार्यक्रम तय भएको छ । राष्ट्रपति भण्डारीसँगको भेटपछि पूर्व प्रधानमन्त्रीद्वय नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालसँग भेट्ने कार्यक्रम तय भएको स्रोतले बतायो ।

ओली र दाहालसँगको भेट नक्सालस्थित होटेल मेरियटमा तय भएको छ । त्यसपछि होटेल द्वारिका जाने र त्यहीँबाट उनी स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

यसबाहेक अन्य कुनै पनि अधिकारी तथा राजनीतिक भेटघाटको कार्यक्रम तय भएको छैन । दक्षिण एसियाली मुलुकहरू पाकिस्तान, अफगानिस्तान र भारतको भ्रमण सकेर वाङ नेपाल आउन लागेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस