माओवादी नेता वर्षमान पुन चीन जाँदै « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

माओवादी नेता वर्षमान पुन चीन जाँदै


११ चैत्र २०७८, शुक्रबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’ फलोअप उपचारका लागि आज (शुक्रबार) चीन जाँदैछन् । कार्गो विमानमार्फत पूर्व उपसभामुख समेत रहेकी पत्नी ओनसरी घर्तीका साथ पुन बिहान नौ बजे चीन प्रस्थान गर्ने कार्यक्रम छ ।

पुन दम्पतीसँगै उनको नियमित उपचारमा संलग्न डा. रोशन पोखरेल पनि चीन जाँदैछन् । पुस्तैनी जन्डिसका कारण पीडित पुनले यसअघि चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा उपचार गराएका थिए ।

जन्डिसको मात्रा (बिलुरुबिन)अनियन्त्रित रूपमा बढेर ३४ पुगेसँगै स्वास्थ्य अवस्था जटिल भएपछि पुनलाई गत १३ असोजमा थाइल्यान्डको बैंककस्थित समितिभेज अस्पताल लगिएको थियो ।

दुई महिनाको उपचारपछि पनि स्वास्थ्यमा अपेक्षित सुधार नभएपछि पुनलाई १० मङ्सिरमा चीनबाट विशेषज्ञ चिकित्सकसहितको टोली आएर सेनजेन लगेको थियो । स्वास्थ्य लाभ गरी पुन १० माघमा स्वदेश फर्किएका थिए ।

यस अगाडि उपचारका लागि चीन रहँदा पुनकै आग्रहमा माओवादी केन्द्रले पदाधिकारी छनोट गरेको थिएन । तर उनी आएपछि पनि माओवादीले महाधिवेशन भएको लामो समयसम्म पदाधिकारी, स्थायी कमिटी छनोट गर्न सकेको छैन । पुन स्वास्थ्य जाँच गरी चार दिनपछि स्वदेश फर्कने कार्यक्रम छ ।

स्वास्थ्य अवस्था सामान्य रहे पनि चीनबाट फर्किनुअघि चिकित्सकले दुई महिनापछि फलोअपमा आउन भनेकाले जान लागेको घर्तीले जानकारी दिइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस