आज चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल आउँदै « प्रशासन
Logo ३१ बैशाख २०८१, सोमबार
   

आज चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल आउँदै


११ चैत्र २०७८, शुक्रबार


काठमाडौँ। चीनका विदेशमन्त्री एवम् स्टेट काउन्सिलर वाङ यी तीन दिने नेपाल भ्रमणका लागि आज काठमाडौं आउँदै छन् । उनी भारत हुँदै आज काठमाडौं आउन लागेका हुन् ।

नेपालमा शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकार गठन भएपछि आउने उनी पहिलो उच्चस्तरीय पाहुना हुन् ।

परराष्ट्रमन्त्री डा. नारायण खड्काको औपचारिक निमन्त्रणामा उनी नेपाल भ्रमणमा आउन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपाल बसाइको क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री खड्का र प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूसँग भेटवार्ता गर्ने छन् ।

भेटवार्ताको क्रममा चीनले अघि सारेको पूर्वाधार विकास परियोजना ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’अन्तर्गत सहयोगका परियोजना कार्यान्वयनका विषयमा केन्द्रित रहेर विदेशमन्त्री वाङ नेतृत्वको प्रतिनिधिमण्डलसँग नेपालले छलफल गर्ने परराष्ट्र मन्त्रालय स्रोतले बताएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको नेतृत्व सम्हालेपछि चीनबाट नेपालको भ्रमण गर्ने उनी विशिष्ट व्यक्ति हुन् । त्यसैले नेपालको राष्ट्रिय हित र विकासका आवश्यकता र प्राथमिकतालाई विश्वको उदीयमान प्रमुख शक्ति राष्ट्र चीनसँग साझेदारी र सहयोग अभिवृद्धिलाई नै सरकारले छलफलको कार्यसूची बनाएको छ ।

नेपाल र चीनका विदेशमन्त्रीबीच शनिवार हुने वार्तामा नेपाली पक्षले एक दशकभन्दा लामो समयदेखि रोकिएको सिमानाको संयुक्त निरीक्षण, रसुवागढी र तातोपानी नाका पूर्णरूपमा सञ्चालन, २०७६ सालमा चिनियाँ राष्ट्रपति सी चीनफिङको नेपाल भ्रमणको बेला भएका सम्झौता कार्यान्वयनलगायत विषयलाई नेपालले उठाउने तयारी गरेको छ । चिनियाँ विदेश मन्त्रीको भ्रमणका बेला नेपालबाट घाँस निर्यात गर्नेसम्बन्धी समझदारीमा हस्ताक्षर गर्ने तयारी समेत छ ।

चीनको राज्य परिषद्का सदस्य समेत रहेका विदेशमन्त्री वाङ यीको औपचारिक भ्रमणले दुई देशबिचको शताब्दीऔं पुरानो सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ ।

चिनियाँ कम्युनिस्ट पार्टीका वरिष्ठ नेता तथा मर्यादाक्रममा उपप्रधानमन्त्रीभन्दा माथिको ओहोदामा रहेका विदेशमन्त्री वाङ पेशेवर कूटनीतिज्ञ हुन् । उनी यसअघि २०७६ साल भदौ महिनामा पनि नेपाल भ्रमणमा आएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस