विद्युतीय भुक्तानी गर्नेको सङ्ख्यामा उल्लेख्य वृद्धि « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

विद्युतीय भुक्तानी गर्नेको सङ्ख्यामा उल्लेख्य वृद्धि


२७ फाल्गुन २०७८, शुक्रबार


काठमाडौँ । इन्टरनेटको सहज पहुँच तथा नगद बोकेर हिँड्नुपर्ने झन्झट नभएका कारण विद्युतीय भुक्तानी गर्नेको सङ्ख्यामा उल्लेख्य बढोत्तरी भएको छ ।

दैनिक उपभोग्य वस्तुदेखि हरेक क्षेत्रमा सहजरुपमा विद्युतीय भुक्तानी गर्न सकिने भएपछि कारोबारको मात्रामा वृद्धि भएको हो । सर्वसुलभरुपमा उपलब्ध भएको क्युआर कोड भुक्तानीका कारण नागरिकको जीवनसमेत सहज भएको छ ।

नगद नै नभए पनि दैनिक जीवनयापन गर्न सकिने भएकाले पनि विद्युतीय भुक्तानीका विभिन्न उपकरणको वृद्धि भएको हो ।

नेपाल राष्ट्र बैङ्कका अनुसार गत माघ मसान्तसम्म रु छ अर्ब ८९ करोड २० लाख बराबरको भुक्तानी क्यु आरकोडमार्फत भएको छ । गत पुस मसान्तमा त्यस्तो भुक्तानी रु छ अर्ब ५२ करोड ५० लाख बराबर थियो ।

त्यस्तै भुक्तानीको सर्वसुलभ माध्यम बनेको कनेक्ट आइपिएसमार्फत गत माघ मसान्तसम्म रु दुई खर्ब ३६ अर्ब ४२ करोड ३० लाख बराबरको कारोबार भएको छ । अघिल्लो महिना भने रु दुई खर्ब ४७ अर्ब ४७ करोड ४० लाख बराबरको कारोबार भएको थियो ।

यसैगरी वालेटमार्फत गत पुस मसान्तसम्म रु १६ अर्ब २७ करोड ६० लाख बराबरको भुक्तानी भएकामा माघ मसान्तसम्म भने रु १४ अर्ब ५३ करोड ४० लाख बराबरको भुक्तानी भएको छ ।

विद्युतीय भुक्तानीका लागि कनेक्ट आइपिएस, विभिन्न वालेट सेवा प्रदायक कम्पनी क्रियाशील छन् । नेपाल राष्ट्र बैङ्कले पनि नगद रहित कारोबारलाई प्रोत्साहित गरिरहेको छ ।

विद्युतीय भुक्तानीका लागि आरजीटीएस, आएपीएस, कनेक्ट आइपीएस, इन्टरनेट बैङ्किङ, मोबाइल बैङ्किङ र पीओएसलगायतका सुविधा उपलब्ध छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस