सोचे जस्तो यहाँ हुँदो रहेन छ : उपाध्यक्ष दाहाल « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

सोचे जस्तो यहाँ हुँदो रहेन छ : उपाध्यक्ष दाहाल


२० फाल्गुन २०७८, शुक्रबार


काठमाडौँ । राष्ट्रियसभा उपाध्यक्ष शशीकला दाहालले प्रतिनिधिसभामा उत्पन्न राजनीतिक विवादले राष्ट्रियसभाको बैठक प्रभावित हुनुहुँदैन भन्ने आफ्नो मान्यता रहेको बताएकी छिन् ।

आफ्नो कार्यकालको उपलब्धिबारे कुराकानी गर्दै उनले विज्ञको प्रतिनिधित्व भएको स्थायी सदनका रूपमा व्याख्या गरी रहँदा प्रतिनिधिसभामा उत्पन्न राजनीतिक विवादले राष्ट्रियसभालाई छोयो, सभा सञ्चालन हुन सकेन, जुन हुनुहुँदैन भन्ने मलाई लागेको छ भनिन् । उपाध्यक्ष दाहालले भनिन्, ‘चार वर्षको अवधिमा गर्न पर्ने धेरै थियो, हिजो जुन सोचेर आएको थिए, सोचे जस्तो यहाँ हुँदो रहेनछ । कोरोना र राजनीतिक सङ्क्रमणले पछिल्ला दुई वर्ष काम कारबाही अघि बढाउने सवालमा झन् ओझेलमा पर्‍यो ।’

सातै प्रदेशका उपसभामुख भेलाबाट पारित घोषणापत्र कार्यान्वयन भएमा सरकार, सङ्घीय संसद् र प्रदेशसभा संविधानको मर्म र भावना अनुरूप समावेशी मुद्दा कार्यान्वयनमा सहजता हुने बताउँदै उनले वर्तमान अवस्थामा जस्तै प्रदेशका सभामुख, प्रदेश प्रमुख र मुख्यमन्त्री पुरुष मात्र हुने प्रवृत्तिको अन्त्य भई समावेशी प्रतिनिधित्व सुनिश्चित गर्न जरुरी भएको धारणा राखिन् ।

उपाध्यक्ष दाहालले भनिन्, ‘चार वर्षे कार्यकालमा संसदीय समिति बैठक र प्रदेशसभा भाग लिन नपाएकोमा खल्लो महसुस लागेको छ । संसदीय अभ्यासमा धेरै अनुभव भए पनि आफैँले सभा सञ्चालन र अन्त्य गर्न तथा सभामा बोल्न नपाएकोमा सोचे जस्तो भएन भन्ने लागेको छ । कानुनमा उपाध्यक्षले सदन चलाउन नपाइने भन्ने थिएन, आगामी दिनमा सदन चलाउन र बोल्न पाउने संस्कार सुरु गर्नुपर्छ ।’

उपाध्यक्ष दाहालसहित तीन विषयगत समितिका सभापतिसहित २० राष्ट्रियसभा सदस्यको चार वर्षे कार्यकाल आजैदेखि समाप्त हुँदै छ ।

Tags :
प्रतिक्रिया दिनुहोस