अपि हिमाल गाउँपालिकामा खाद्यान्न अभाव « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

अपि हिमाल गाउँपालिकामा खाद्यान्न अभाव


४ फाल्गुन २०७८, बुधबार


दार्चुला । सडक सञ्जालसँग नजोडिएको अपि हिमाल गाउँपालिकामा खाद्यान्न अभाव भएको छ । गत वर्षको खडेरीका कारण उत्पादन घटेसँगै यस वर्ष गाउँपालिकामा खाद्यान्न अभाव भएको हो ।

सात हजार जनसङ्ख्या रहेको गाउँपालिकाका अधिकांश बस्ती भिरालो पाखो छ । ‘पाखो जमिनमा उत्पादन भएको अन्नले तीन महिना पनि खान पुग्दैन’, अपि हिमालका स्थानीय प्रेमसिंह कार्कीले भने, ‘अहिले उत्पादित अन्न सकिएको छ ।’

गाउँका अधिकांशले महँगो मूल्यमा खाद्यान्न किनेर खानुपर्ने अवस्था आएको छ । गत वर्ष यार्सागुम्बा पनि राम्रो नभएको र गाउँको उत्पादनले नपुगेपछि व्यापारीबाट महँगो मूल्यमा खाद्यान्न खानुपर्दा निकै समस्या भएको उनले बताए ।

खाद्य संस्थानले चालू आर्थिक वर्षमा खाद्यान्नको कोटा घटाएर पठाउँदा समस्या भएको हो । ‘गत वर्षसम्म दुई हजार ५०० देखि तीन हजारसम्म क्विन्टल खाद्यान्न आउँथ्यो”, खाद्य संस्थान खण्डेश्वरीका नरभानसिंह ठेकरेले भने, ‘यस वर्ष एक हजार क्विन्टल मात्रै खाद्यान्न पठाएपछि समस्या भएको छ ।’

पहिले पठाएको एक हजार क्विन्टल खाद्यान्न सकिएको बताइएको छ । गाउँपालिका र जिल्ला प्रशासन कार्यालयमार्फत पहल भएपछि थप ५०० क्विन्टल खाद्यान्न आउने जनाइएको छ ।

उनले भने, ‘यहाँको चामल गहुँको माग अत्यधिक छ, यो चामल एक दिन पनि पुग्नेवाला छैन, खडेरीका कारण यस क्षेत्रमा भोकमरीको अवस्था सिर्जना हुने देखिएको छ ।’

गाउँपालिकाले अपि हिमालका लागि चालू वर्षमा थप पाँच हजार क्विन्टल खाद्यान्न कोटा थप्न आग्रह गरे पनि अहिलेसम्म सुनुवाइ नभएको गाउँपालिकाका अध्यक्ष धर्मानन्द मन्यालले बताए ।

उनले भने, ‘हामीले दुई महिनाअघि नै थप पाँच हजार क्विन्टल खाद्यान्न थप गर्न आग्रह गरेका छौँ, तर अहिलेसम्म खाद्य संस्थानको केन्द्रीय कार्यालयबाट जानकारी आएको छैन, जनताले खान नपाउने अवस्था भइसकेको छ ।’

अहिले अपि हिमालको वडा नं ५ मकरीगाडसम्म मात्रै सडकको ट्र्याक खुलेको छ । त्योभन्दा माथिल्लो क्षेत्रका चार वडामा सडक पुगेको छैन । सडक नहुँदा यो क्षेत्रमा ढुवानी भाडा महँगो छ । यो क्षेत्रमा व्यापारिक चामल खाद्यान्नको भन्दा निकै महँगो हुने गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस