बङ्गलादेशमा कोभिडबाट बच्न नयाँ निर्देशन जारी « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

बङ्गलादेशमा कोभिडबाट बच्न नयाँ निर्देशन जारी


२७ पुस २०७८, मंगलबार


ढाका । बङ्गलादेशमा पछिल्ला केही हप्तामा कोभिड १९ को सङ्क्रमण बढेपछि यसबाट बच्नका लागि नयाँ निर्देशन जारी गरिएको छ ।

ती ११ बुँदे निर्देशन जारी गरिएको र पालना नगर्ने नागरिकलाई कानुनी कारबाही गरिने बताइएको छ । यी निर्देशनहरु मास्कको प्रयोग गर्नेदेखि सार्वजनिक स्थलमा जम्मा हुन नपाइनेसम्मका रहेका छन् । यहाँ सार्वजनिक स्थलमा जम्मा हुँदा तथा पसल, मलहरुमा उपस्थित हुँदा मास्क अनिवार्य गरिएको छ ।

मास्क नलगाई कुनै व्यक्ति सार्वजनिक स्थलमा गएको पाइएमा उसलाई कानुनी कारबाही गरिने छ । त्यस्तै सभा समारोहहरु बन्द गरिएको छ भने रेल तथा सार्वजनिक यातायात सेवाले उसको क्षमताको आधा मात्र यात्रु राखेर सञ्चालन गर्नुपर्ने प्रावधान राखिएको छ ।

त्यस्तै होटल, रेष्टुरेन्टहरु रातिसम्म खोल्न नपाइने र उनीहरुले यात्रुलाई सेवा दिँदा आधा मात्र क्षमताका नागरिकलाई मात्र दिन सकिने बनाइएको छ । यहाँको मन्त्रिपरिषदको सोमबारको बैठकले कोभिडबाट बच्नका लागि भन्दै यस्ता कडा कानुनहरु लागू गरेको हो ।

त्यस्तै होटल रेस्टुरेन्टमा खान तथा होटलमा बास बस्न र कुनै हवाई जहाजबाट यात्रा गर्दा पनि उनीहरुले खोप कार्ड अनिवार्य रुपमा देखाउनुपर्ने नियम बनाइएको छ ।

बङ्गलादेशमा पनि पछिल्ला केही हप्ता यता कोरोना भाइरस र यसको घातक भनिएको ओमिक्रोन भाइरसको सङ्क्रमण निकै बढेको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस