राष्ट्रिय परिचयपत्रका लागि तनहुँमा २३ हजारको विवरण दर्ता « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

राष्ट्रिय परिचयपत्रका लागि तनहुँमा २३ हजारको विवरण दर्ता


१५ पुस २०७८, बिहिबार


दमौली । राष्ट्रिय परिचयपत्रका लागि तनहुँमा २३ हजारभन्दा बढीको विवरण दर्ता भएको छ । जिल्ला प्रशासन कार्यालय तनहुँमा स्थापना गरिएको स्टेशनबाट हालसम्म २३ हजार ३७ जनाले विवरण दर्ता गराएका हुन् ।

जम्मा १३ हजार ५४ पुरुष र नौ हजार ९८३ महिलाले राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गरेको कम्प्युटर अपरेटर इच्छा तामाङले जानकारी दिए । उनका अनुसार दैनिक ९० भन्दा बढीले राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गराउने गरेका छन् । चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्म मात्रै सात हजार ४१० ले विवरण दर्ता गराएका छन् ।

प्रशासन कार्यालयमा दुई वटा स्टेसन स्थापना गरिएको छ । नागरिकता बनाउने वित्तिकै परिचयपत्रका लागि विवरण दर्ता गर्ने व्यवस्था मिलाइएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए ।

राष्ट्रिय परिचयपत्रको विवरण बुझाउन अब अनलाइन प्रयोग गर्न सकिने भएको छ । परिचयपत्रका लागि आवेदन बुझाउन अनलाइन प्रक्रिया पूरा गरी प्रशासन कार्यालयमा आफै उपस्थित हुनुपर्नेछ ।

अनलाइनमा व्यक्तिगत विवरण भर्न मोबाइल नम्बर प्रयोग गर्नुपर्छ । त्यसपश्चात् मोबाइलमा आउने कोर्ड राखेर सम्पूर्ण विवरणका साथै बाबुआमा, हजुरबुबा, हजुरआमा र श्रीमान्/श्रीमतीको विवरण भर्नुपर्ने हुन्छ । व्यक्तिको विवरण भरिसकेपछि बायोमेट्रिक दिनका लागि प्रशासन कार्यालयमा नै दरखास्त आवेदन बुझाउनुपर्छ । अनलाइनबाट भरेको आवेदन फाराम प्रिन्टसहित कार्यालयमा समयमा सक्कल कागजातसहित बायामेट्रिक दिने स्थान प्रशासन कार्यालयमा उपस्थित हुनुपर्नेछ ।

परिचयपत्रका लागि आवेदन फाराम भर्दा १६ वर्ष उमेर पुगेका र नेपाली नागरिकताको प्रमाणपत्र पाएका नागरिकले नाम थर, जन्म मिति, लिङ्ग, आमाबाबुको नाम, ठेगाना, नागरिकताको किसिम, पति र पत्नी नाम, बाजेको नाम उल्लेख गर्नुपर्छ । फाराममा औंलाछाप (१० वटा), आँखाको नानी, तस्बिर, राष्ट्रियता र हस्ताक्षर उपलब्ध गराउनुपर्छ ।

नेपाल सरकारबाट नेपाली नागरिकलाई प्रदान गर्ने सेवा सुविधालाई राष्ट्रिय परिचयपत्र प्रणालीमा आबद्ध गर्नाका साथै सो प्रणालीबाट प्राप्त हुने तथ्याङ्क तथा अभिलेख नीति एवं योजना निर्माणमा प्रयोग हुनेछ । यसले व्यक्तिको राष्ट्रिय पहिचान पत्र र मतदाता परिचयपत्रका रूपमा काम गर्ने सबै किसिमका सार्वजनिक सेवा प्राप्त गर्ने आधार दिनेछ । सामाजिक सुरक्षा कार्डका रूपमा यही कार्ड प्रयोग हुनेछ । यसले सुरक्षा व्यवस्थापनका लागि सहयोगी अभिलेखको काम गर्नेछ ।

अन्य सार्वजनिक सेवासँग राष्ट्रिय परिचयपत्र प्रणालीलाई आबद्ध गरेपछि सार्वजनिक सेवा प्रदायक निकायले झन्झटरहित, छोटो समय र कम लागतमा सेवा प्रदान गर्न सम्भव हुनेछ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जन्म, मृत्यु, बसाइँ सराइ तथा अन्य कारणबाट व्यक्तिगत सूचनामा परिवर्तन भएमा सोही अनुसारको अभिलेख व्यवस्थापन गर्ने प्रणालीको स्थापना तथा विकास गरेको छ ।

राष्ट्रिय परिचयपत्र नम्बर र राष्ट्रिय परिचयपत्रलाई बहुउपयोगी प्रणालीका रूपमा सरकार र सरकारबीच (जिटुजी), सरकार र व्यवसायीबीच (जिटुबी) र सरकार र नागरिकबीच (जिटुसी) सेवा प्रदान गर्न उपयोग हुनेछ । विभागले तनहुँका स्थानीय तहबाट पनि परिचयपत्र विवरणका लागि दर्ता गर्ने व्यवस्था मिलाउन लागेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस